हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु
बुधबार, भाद्र १५, २०७९ | १०:५७:२४
झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–१ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस-दाउरा लिन गएको बेलामा हात्तीले उनलाई आक्रमण गरेको जिल्लाप्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडतर्फ लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बेलुका साढे ५ बजे मृत्यु भएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।