चितवनमा डेङ्गुको जोखिम उच्च : ७६ जनामा संक्रमण पुष्टि
बुधबार, भाद्र १५, २०७९ | १८:१४:५८
चितवन : चितवनमा डेङ्गु संक्रमणको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।
नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । उनले भने, “यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च छ ।” भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको उनले बताए ।