सोमबार, बैशाख ०७, २०८३
राप्रपाका अध्यक्ष लिङदेनले दिए प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । अध्यक्ष लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट आइतबार राजीनामा दिएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभाको आइतबार बैठकमा मन्तव्य राख्ने क्रममा मंसिर ४ गते प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा भइसकेकोले आफू पदमा बसिराख्नु उपयुक्त नहुने बताउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताए । निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो । उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा थियो ।

संसद्मा राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदै । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’

लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ । उनले अब प्रतिनिधिसभा निर्वाचनमा पार्टी काममा लाग्ने बताए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय