सोमबार, बैशाख १४, २०८३
डोजर प्रयोग गरी महानगरले हटायो कोटेश्वरका अनधिकृत संरचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन कोटेश्वरमा डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक पटक सूचित गराउँदा पनि अटेर गरेपछि महानगरले आइतबार दिउँसो कोटेश्वरमा डोजर प्रयोग उक्त संरचना हटाएको हो ।

अनधिकृत संरचना हटाउन साउन १ गते ३५ दिने सूचना निकालेको महानगरले सूचनाको म्याद सकिएको भोलिपल्टदेखि अनधिकृत संरचना र फुटपाथ अतिक्रमण हटाउन ठाउँ ठाउँमा डोजर लगाएको छ । तर पनि अनधिकृत रुपमा बनाइएका संरचना व्यवसायी आफैंले हटाएका छैनन् ।

वडामार्फत पटक पटक गरिएको आग्रहलाई पनि व्यवासयीले नटेरेपछि आफूहरु डोजर लिएरै जानु परेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनका अनुसार महानगर प्रहरीले फुटपाथलाई ओगटेका भवनको भर्‍याङ, फुटपाथ भन्दा बाहिर निकालेर राखेको होर्डिङ बोर्ड, पाली, बार्दली भत्काएको हो । यस्तै कोटेश्वर क्षेत्रमा रहेको बस, सुमो काउन्टरहरुले फुटपाथ छेकेर बनाएको डेस्क पनि नगर प्रहरीले हटाइदिएको छ ।

कोटेश्वरको सुन्दर बजारको फुटपाथको लाइन मिचेर बनाएका दुईटा सटरमा महानगरले डोजर चलाएको छ । सुन्दर बजारमा डोजर चल्न थालेपछि केहि स्थानीय युवाले पसलमा रहेको सामान निकाल्न दिनुपर्ने माग गरेका थिए । महानगर प्रहरीले १० मिनेटभित्र सामान खाली गर्न निर्देशन दिएपछि उनीहरुले सटरमा रहेका पसलका सामग्रीहरु हटाएका हुन् ।

काठमाडौं ३२ नम्बर वडाध्यक्ष नवराज पराजुलीले महानगरको टोली नक्सा अनुसार प्रयोजन भए नभएको हेर्दै कार्यान्वयन गर्दै हिँड्ने क्रममा कोटेश्वर क्षेत्रमा आईपुगेको तर्क गरे ।

महानगरपालिकाले अहिले हरेक वडामा आफ्नो क्षेत्रभरी रहेका अनधिकृत संरचनाहरु अनुगमन गरेर हटाउन निर्देशन दिने अभियान चलाइरहेको छ । वडाले जानकारी गराएर नटेरे आफूहरुले हटाउने गरेको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय