काभ्रेमा आत्महत्यमा गर्नेमा पुरुषको संख्यामा बृद्धि : पुरुषको संख्या किन बृद्धि ?

काभ्रे : आज विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथामका लागि विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।

आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरि नै हुने गरेका छन् । साना उमेर समूह देखि बुढौली उमेर समूहका व्यक्तिहरु पनि आत्महत्यामा संलग्न भएका छन्। काभ्रेमा भने तुलनात्मक रुपमा आत्महत्यमा गर्नेमा पुरुषको संख्यामा बृद्धि भएको एक तथ्याङकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको त्रि–वर्षीय विवरण अनुसार काभ्रेमा आत्महत्यमा गर्नेमा पुरुषको संख्यामा बृद्धि भएको देखिन्छ । विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ सय १९ वटा आत्महत्याका घटनाहरु भएका छन् । जसमा ७० जना पुरुष र ४४ जना महिला रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १ सय ३४ वटा आत्महत्याका घटनाहरु भएका छन् । जसमा ७३ जना पुरुष , ५४ जना महिला रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/७७मा १ सय ३९ वटा आत्महत्याका घटनाहरु भएका छन् । जसमा ७३ जना पुरुष र ५८ जना महिलाले आत्महत्या गरेका थिए ।

काभ्रेमा तुलनात्मक रुपमा आत्महत्या गर्नेको संख्यामा कमी आएको देखिएपनि पुरुषहरुको संख्यामा भने कमी नआएको मनोविद सीता भण्डारी बताउँछिन् । उनका अनुसार काभ्रेमा आत्महत्याको संख्यामा कमी आएको देखिन्छ । स्थानीय तह र सरोकारवाला निकायहरुले यसको रोकथामका लागि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमको प्रभावकारीताले पनि यसको न्यूनिकरण भएको देखिन्छ ।

‘यी कार्यक्रमहरु महिला र बालबालिका केन्द्रित भएकाले पनि महिलाहरुको संख्यामा कमी आएको देखिन्छ,’ उनले भनिन्, ‘ त्यस्ता कार्यक्रममा पुरुषहरुको सहभागीता पनि कम हुने गर्छ । महिलाको तुलनामा पुरुषहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्न नसकेकाले पनि आत्महत्या गर्नेमा पुरुषको संख्या बृद्धि भएको पाइन्छ ।’

हाम्रो नेपाली समाजमा रहेको पृतिसतात्मक सोचले गर्दा नै तुलनात्मक रुपमा आत्महत्या गर्नेमा पुरुषहरुको संख्यामा बृद्धि भएको मनोविद भण्डारी बताउँछिन् । महिलाको तुलनामा पुरुषहरु खुलेर आफ्ना समस्याहरु व्यक्त गर्न नसक्ने र आफ्नो पीडाहरु मनमै दबाएर राख्ने गर्छन् । जसको परिणाम स्वरुप उनीहरुले मृत्युको बाटो रोज्छन् ।

‘हाम्रो समाजले पुरुष भएर रुञ्चे स्वभाव देखाउँनुहुदैन भन्छ,’ उनले भनिन्, ‘तर महिलाहरु भने आफूले भोगेको पीडा र समस्या खुलेरै भन्न सक्छन् । आफ्नो समस्या अरु माझ राख्दा मन हलुको हुने भएकाले पनि तुलनात्मक रुपमा महिलाहरुले चाँडै आत्महत्याको बाटो रोज्दैनन् ।’

आत्महत्या संख्या : बनेपमा सबैभन्दा बढि, महाभारत र खानीखोलामा सबैभन्दा कम
जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा नगरपालिकामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै र महाभारत र खानीखोला गाउँपालिकामा आत्महत्या गर्नेको संख्या सबैभन्दा कम रहेको छ । बनेपा नगरपालिकामा २४ जना, धुलिखेल नगरपालिकामा १९ जना, पनौतीमा १३ जना, पाँचखाल नगरपालिमा ७ जना, नमोबुद्ध ८ जना, मण्डनदेउपुरमा ११ जना, भुम्लु गाउँपालिकामा ६ जना, चौँरीदेउराली गाउँपालिकामा ८ जना , तेमालमा ३ जना, रोशीमा ७ जना, बेथानचोकमा ११ जना, महाभारतमा १ जना र खानीखोलामा १ जनाले आत्महत्या गरेका थिए ।

कार्यालयबाट प्राप्त विवरण अनुसार २०७८/७९मा आत्महत्याको प्रकारलाई हेर्दा काभ्रेमा झण्डिएर आत्महत्या गर्नेको संख्या बढि देखिन्छ । काभ्रेमा ८९ जनाले झुण्डिएर , २३ जनाले विष सेवन गरेर, ६ जनाले दुरत्साह र १ जनाले आफैले गोली हानी आत्महत्या गरेको तथ्याङक जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङकमा छ । पेशागत रुपमा तथ्याङकलाई हेर्दा कृषकले बढि आत्महत्या गरेको देखिन्छ । तथ्याङक अनुसार मजदुरीमा आबद्ध १९ जना , कृषिमा ३९, व्यापारी ९, विद्यार्थी २२, गृहिणी २१, बेरोजगार ९ जनाले आत्महत्या गरेका थिए ।

३६ देखि ४५ उमेर समूहमा बढ्दै आत्महत्या
जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङक अनुसार आ.व २०७८÷७९मा १६ वर्षमुनि उमेर समूहका ५ जना, १६ देखि २५ का २७ जना, २६ देखि ३५ का २२ जना, ३६ देखि ४५ का ३० जना , ४६ देखि ६० का २१ जना र ६० वर्षमाथि उमेर समूहका १४ जनाले यस आर्थिक वर्षमा आत्महत्या गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस