काभ्रेसहित १० जिल्ला डेँगु संक्रमणको उच्च जोखिममा

काभ्रे : पछिल्लो समय देशभर डेंगु संक्रमणको संख्या निरन्तर बढ्दै गएको देखिन्छ । काभ्रेसहित १० जिल्ला डेँगुको उच्च जोखिममा रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।
आइतबारसम्मको तथ्यांकअनुसार काभ्रेपलाञ्चोकमा १ सय ५, ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १० र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । साथै साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ । डेंगु फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे ।