डेँगु संक्रमण रोकथामका लागि दोलालघाट स्वास्थ्य चौकीको घर दैलो अभियान
काभ्रे : पछिल्लो समय देशभर फैलिरहेको डेँगु संक्रमणको जोखिम काभ्रेमा पनि देखिएको छ । डेँगु संक्रमणको जोखिम नियन्त्रणका लागि स्थानीय स्तरबाटै प्रयासहरु भइरहेका छन् ।
जिल्लाको भुम्लु गाउँपालिकाले पनि डेँगु संक्रमण रोकथामका लागि घर दैलो अभियान सुरु गरेको छ । गाउँपालिकाको वडा नं १० स्थित दोलालघाट स्वास्थ्य चौकीले डेँगु संक्रमण रोकथामका लागि घर दैलो अभियान सुरु गरेको हो ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकलाई डेँगु रोग, कसरी संक्रमण हुन्छ, यसको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नागरिकलाई सचेत गराउन घरदैलो अभियान सञ्चालन गरिएको भुम्लु गाउँपालिका वडा नं १० का वडा अध्यक्ष केसरमान लामाले जानकारी दिए ।
कार्यक्रममा डेँगु संक्रमणबाट जोगिनका लागि घर वरपर अनावश्यक पानी जमाएर नराख्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, झुलको प्रयोग गर्ने लगायतका सन्देशमूलक जानकारी गराइएको दोलालघाट स्वास्थ्य चौकिका इन्चार्ज बुद्धि कृष्ण घिमिरेले बताए ।
दोलालघाट स्वास्थ्य चौकिका इन्चार्ज बुद्धि कृष्ण घिमिरेको नेतृत्वमा अहेब राजकुमार गोले, अनमी सबिना घतानी र कबिता नेपालीको सक्रियतामा प्रत्येकको घर घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।