डेंगु संक्रमितको संख्या बढ्दै : देशभर १२ हजार २१७ जनामा संक्रमण
काठमाडौं : पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार ३०४ जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय ४७, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३ सय ८०, गण्डकीमा २ सय ४५, मधेश प्रदेशमा २२३ र कर्णाली प्रदेशमा १८४ जनामा डेंगु संक्रमण देखिएको छ।
हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ। ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ।