
अछाम : अछाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको हो भने ६ जना बेपत्ता तथा ११ जना घाइतेको उद्धार भइसकेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको कमलबजार नगरापलिका वडा नम्बर ६ मा गएको पहिरोमा परेर ७ जना, कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा गएको पहिरोमा परेर ५ जना, तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोमा परेर ४ जना र ढकारी गाँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा परेर १ जनाको मृत्यु भएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
उनका अनुुुसार तुर्माखाद गाउँपालिकाका वडा नम्बर ५ मा गएको पहिरोमा ५ जना र ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा एक जना गरेर जम्मा ६ जना अझै बेपत्ता रहेका छन् । कमलबजार नगरपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट ७ जना घाइतेको उद्धार भएको छ भने सोहि नगरपालिकाको वडा नम्बर ८ मा गएको पहिरोबाट पनि एक जना घाइतको उद्धार भएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट पनि ३ जनाको उद्धार भएको छ । तीन वटै स्थानीय तहका ४ ठाउँमा गएको पहिरोमा परेर जम्मा ३४ जना प्रभावित भएका छन् ।