काठमाडौं :अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब ७६ करोड रुपियाँ कर राजस्व र १९ अर्ब ९० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको थियो ।
चालू आर्थिक वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यसमध्ये कर राजस्व १२ खर्ब ९५ अर्ब ३७ करोड र गैरकर राजस्व एक खर्ब सात अर्ब ७७ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलन भएको राजस्व कुल राजस्व लक्ष्यको १०.२५ प्रतिशत मात्र हुन आउँछ । त्यस्तै कर राजस्व भने लक्ष्यको १०.०९ प्रतिशत मात्र सङ्कलन भएको छ । गैरकर राजस्व कुल लक्ष्यको १२.१६ प्रतिशत मात्र सङ्कलन भएको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।



















