सिन्धुपाल्चोकमा छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको जीवितै उद्धार
सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका– १ सर्कथली स्थित छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको जीवितै उद्धार गरिएको छ ।
हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले शनिबार दिउँसो बगरबाट बगाएको थियो । उनलाई २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
शनिबार एक्कासी खोलामा चिप्लिएर उनी खसेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको र आफूले सुरक्षाकर्मीलाई खबर गरेर खोजी कार्यमा लागेको बताए । बेपत्ता भएका शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउ, गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए ।
तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।
छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट उनलाई सकुशल उद्धार गरिएको छ । शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक-३ का स्थानीय सिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।