खाने तेलको मूल्य एक सातामा प्रति लिटर ८० रुपैयाँले घट्यो
काठमाडौं : नेपाली बजारमा खानेतेलको मूल्य घट्न थालेको छ । लामो समयदेखि उच्च मूल्यमा बिक्री भइरहेको खानेतेलको मूल्य पछिल्लो १ सातायता निरन्तर ओरालो लाग्न थालेको हो ।
खासगरी, सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा नेपाली बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायीहरूको भनाइ छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो १/२ सातायता खाने तेलको मूल्य घट्न थालेको बताए । सरकारले कच्चा पदार्थको भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा आन्तरिक बजारमा मूल्य घट्न थालेको उनले जानकारी दिए ।
यसअघि, नेपालबाट भारततर्फ खानेतेलको निर्यात हुँदै आएको थियो । इण्डोनेसिया, मलेसिया, युक्रेन, रुस, अर्जेन्टिना र ब्राजिल तथा बोलिभिया लगायतका मुलुकबाट कच्चा खानेतेल ल्याएर उद्योगीले प्रशोधन गर्दै भारतीय बजारमा निर्यात गर्दै आइरहेका थिए । तर, भारतले कच्चा तेलमा लाग्दै आएको उच्च भन्सार दरलाई घटाएसँगै नेपालबाट हुने निर्यात प्रभावित बनेको छ ।
‘भारततर्फको निर्यात प्रभावित बनेसँगै उद्योगीले नेपाली बजारमा खानेतेलको मूल्य खपत गर्नुपर्ने स्थिती आएको छ,’ तुलाधरले भने, ‘यही कारण उद्योगीहरूले खानेतेलको मूल्य घटाएर पठाउन थालेका छन् ।’ यस्तै, अर्थ मन्त्रालयले खाने तेलको कच्चा पदार्थमा यसअघि लाग्दै आएको भन्सार दर समेत घटाएको थियो । यसको प्रभाव समेत खानेतेलको मूल्यमा परेको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेन युद्धसँगै चुलिएको कच्चा खानेतेलको भाउ निरन्तर घट्न थालेको छ । यी तीन कारणले गर्दा आन्तरिक बजारमा खानेतेलको मूल्य घट्न थालेको खुद्रा व्यापार संघको भनाइ छ । संघका अनुसार यसअघि ३६०/३७० रुपैयाँ पर्ने सुर्यमूखी तेलको मूल्य अहिले प्रतिलिटर २९० रुपैयाँमा आइपुगेको छ । यद्यपी, यसको ब्रण्डअनुसार मूल्य फरक–फरक हुने गरेको छ । यसैगरी, प्रतिलिटर ३२० रुपैयाँमा बिक्री भइरहेको भटमास तेलको मूल्य अहिले २५५ रुपैयाँसम्म आइपुगेको छ ।
यता, यसअघि, प्रतिलिटर ४३० रुपैयाँसम्म पर्ने काँचो तोरीको तेलको मूल्य घटेर ३७० रुपैयाँ प्रति लिटरसम्म आइपुगेको छ । यस्तै, यसअघि ३७० रुपैयाँसम्म पर्ने भुटेको तोरीको तेलको मूल्य घटेर ३३० रुपैयाँ प्रतिलिटर आइपुगेको खुद्रा व्यापार संघका महासचिव तुलाधारले बताए । रातोपाटीबाट