डेंगुमा लापरबाही गरे जान सक्छ ज्यान

काठमाडौं : सामान्यतया बेलैमा उचित उपचार पाए डेंगु संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगुका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन ।
तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगुका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगु संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ ।
डेंगुको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन ।
तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा.अनुपमा कार्कीले बताइन् । ‘समयमै उपचार पाए डेंगुबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति रहँदैन,’ उनले भनिन्। यो समाचारनागरिक दैनिकमा छ ।