एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवक पक्राउ
काठमाडौँ : एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका–९ का २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका–७ का २५ वर्षीय जीवराज बम रहेका छन् । अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको एक सय ग्राम सुनसहित प्रहरीले उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कवीन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरूबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी गरी सय ग्राम सुन फेला परेको थियो। सोधपुछको क्रममा उक्त सुन जीवराजले भन्सार छली ल्याउन लगाएको खुलेपछि तीनैजनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले बताएको छ।