धादिङ :धादिङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त भएको छ ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए । उनका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो।
घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। सडक अवरुद्ध पारेका छन्। अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्।गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ-ठाउँमा सवारी रोकेका छन्। बसमा लगाएको आगो धुनीबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ।
आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन्। सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौँतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा सवारी रोकेको छ। सयौँ सवारी जाममा परेका छन्। एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ।



















