पौडी खेल्ने क्रममा बगाउँदा तीन जना किशोरको मृत्यु
शुक्रबार, आश्विन ०७, २०७९ | २०:५४:१७
मकवानपुर : मकवानपुरमा पौडी खेल्ने क्रममा बगाउँदा तीन जना किशोरको मृत्यु भएको छ । मकवानपुर जिल्लाको हेटौंडा–५ न्युरेनीस्थित कर्रा खोलाले बगाएर बेपत्ता भएका तीन जना किशोर मृत भेटिएका हुन् ।
शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान मृत भेटिएका हुन् ।
पौडी खेल्ने क्रममा खोलाले ४ जनालाई बगाएकोमा १२ वर्षीय रियान्स माझी भने पौडिएर बाहिर निस्केन सफल भएको जनाइएको छ । तीन जनाकै शव हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।