धनगढी : अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले सोमबार बिहान भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको हो ।
बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना पसलका सामग्री, कम्प्युटर पार्ट्स, कपडाहरू बेवारिसे अवस्थामा भेटिएको जिपसहित बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए । उनका अनुसार कुल १८ लाख २२ हजार मूल्य बराबरका ती सामानहरू नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।



















