‘दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिइनेछ,’ : सांसद लम्साल
काभ्रे: दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदानको व्यवस्था गरिने बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले बताएका छन् ।
बुधबार मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ रानीटार स्थित देवी पञ्चकन्य बहुउद्देश्यीय सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद लम्सालले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांस्द लम्सालले भने, ‘अहिले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिन पनि प्रदेश सरकारले नै सुरुवात गरेको हो । यो वर्षको बजेटबाटै प्रतिलिटर पाँच रुपैयाँ पुर्याउन हामीले प्रस्ताव गरेको थियौँ । त्यो प्रस्ताव पारित भएन । दुई रुपैयाँ प्रतिलिटर अनुदान पाइरहनुभएको छ । तपाईहरु ढुक्क हुनुहोस्, प्रतिलिटर पाँच रुपैयाँ अनुदान पुग्छ ।’
उत्पादनमा आधारित सहकारीलाई बलियो बनाउनु पर्नेमा सांसद लक्ष्मण लम्सालले जोड दिए। ‘हामीले उत्पादनमा आधारित सहकारीलाई बलियो बनाउनुपर्छ । यसो हुँदा उत्पादन पनि बढ्छ,’ उनले भने, ‘सहकारी केबल पैसा जम्मा गर्ने र ऋण प्रवाह गर्ने संस्था मात्रै होइन् । सहकारीले बजारलाई आवश्यक पर्ने वस्तु उत्पादन गर्न पनि किसानलाई प्रोत्साहित गर्नुपर्छ । उत्पादनमा आधारित सहकारीलाई बलियो बनायौँ भने बजारीकरणमा सहज हुन्छ ।’