काभ्रे : दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा गर्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आज बसेको समन्वय बैठकले असोज १४ गतेदेखि २४ गतेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
चाडपर्वको समयमा सडकमा यातायात व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । बैठकले चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाईन टिकेटिङ् र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी/गराई यात्रा व्यवस्थापन लगायतका कार्यहरु गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने निर्णय गरेको छ ।
यस्तै सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, सवारी साधनमा सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र यात्रुहरुलाई सकेसम्म सामाजिक दुरी कायम गर्न शुरुमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
बैठकले अरनिको र विपी राजमार्गमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने निर्णय पनि गरेको छ । यस्तै सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गर्ने, यात्रु सिट क्षमताका आधारमा यात्रा गराउन स्वयं सेवकहरुको परिचालन गर्ने, यातायात भाडादरलाई पारदर्शी बनाउने, नियमित चेकजाँच र अनुगमन गर्ने र सोको लागि सम्पूर्ण यातायात व्यवसायीहरुले समन्वय गरी हाल निर्धारित भाडादर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयमा उपलब्ध गराउने बैठकबाट निर्णय भएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख नगेन्द्र दाहाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश शिलवाल, डिभिजन सडक कार्यालय भक्तपुरका केशवराज जमरकट्टेल, विभिन्न यातायात कम्पनीका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।



















