पाकिस्तानमा यस वर्षको बाढीपहिरोमा परेर कम्तीमा पनि एक हजार सात सय जनाको ज्यान गएको बताइएको छ। मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ।
अधिकारीहरूले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो। गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरू १२ हजार आठ सय ६५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन्। त्यस्तै अरू तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ।
पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पुर्याएको छ। यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ।
त्यसैगरी यहाँका अधिकारीहरूले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन्। यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन्।





















