काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धन दलका नेताहरूले अपिल आग्रह गरेका छन् । प्रचण्डले चितवन छाडेर गोरखाबाट चुनाव लड्ने तयारी गरेपछि चितवनबाट गठबन्धनका दलका नेताहरूले यस्तो आग्रह गरेका हुन् ।
दलहरूले संविधान, लोकतन्त्र र विकासका लागि निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक भएको उल्लेख गर्दै चितवनलाई अभिभावकीय भूमिका निर्वाचन गर्न अपिल गरेका छन् ।
पाँच दलीय गठबन्धन, चितवनले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘गठबन्धन दलका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकृष्ट हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन हुन अपिल गर्ने निर्णय गरिन्छ।’
केन्द्रमा भएको निर्णयबमोजिम जिल्लास्थित पाँच दलीय गठबन्धन सम्भावित उम्मेदवारलाई विजयी गराउन लागिपर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ।
कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षमा बसेको बैठकमा माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेमराज भुजेल लगायतको सहभागिता थियो ।





















