आज विजया दशमी : टिका लगाउने शुभ साइत बिहान ११ः ५१ मिनेट
काठमाडौँ : आज बडा दशैंको मुख्य दिन । मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।