काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन् । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने तयारीमा रहेका भुसाललाई पार्टीले टिकट नदिने निर्णय गरेपछि उनको यस्तो घोषणा आएको हो ।
पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भुसालले पार्टी छाड्ने निष्कर्षमा पुगेको जनाएका छन् । उनले भनेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’



















