काभ्रे : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका लागि ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा ६ जनाका लागि दल र स्वतन्त्र गरी ६७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ ।
आइतबार गरिएको मनोनयन दर्ता अन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि ९–९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा ((क) का लागि ६ जना र प्रदेशसभा (ख) का लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरेका छन् । काभ्रेमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।



















