रौतहट : स्रोत नखुलेको ९ लाख ६४ हजार रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको मोबाइल जाँच टोलीले बुधबार भारत विहार सीतामढी बैरगनियाका ३६ वर्षीय राजकुमार भगतको साथबाट ९ लाख ६४ हजार रुपैयाँ बरामद गरेको हो।
गौर नगरपालिका–१ ट्रान्समिटर चोकबाट बीआर—३०—भी—०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ह्याण्डिलमा कालो रंगको प्लास्टिकको झोलामा नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता एवं डीएसपी सुनिल मल्लले भगतले रकमको स्रोत खुलाउन नसकेपछि कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिए।



















