काभ्रेमा समृद्धिको जग बसाल्ने नेता कम्रेड लालध्वज

को हुन् लालध्वज ?
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पामा वि.सं. २०२७ साल बैशाख १ गते बुबा इमान सिं तामाङ र आमा माइली तामाङको माइलो छोराको रुपमा सूर्यमान दोङ (लालध्वज) को जन्म भएको थियो । माओले भन्नुभए झैं सूर्यमान दोङ (लालध्वज) झुप्रोबाट जन्मिएका सभ्यता हुन् । सामन्ती सुदखोरको विरुद्ध ग्रामिण वर्ग संघर्षको एक योद्धा हुन् उनी । उनी ग्रामिण किसान माथिको अन्याय अत्याचारले कम्युनिष्ट बनेका थिए । युग परिवर्तन गर्ने महान जनयुद्धका एक कुशल कमाण्डर हुन् उनी । शान्तिपूर्ण राजनीतिमा पनि विपक्ष राजनीतिक दलका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको समेत ढुकढुकी बन्न सफल नेता हुन् लालध्वज । आप्ठ्यारोको साथी हुन उनी । त्यसैले आम निर्वाचन–२०७९ मा उनले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको जिम्मेवारी पाएका छन् ।

ग्रामिण वर्ग संघर्ष र राजनीतिमा प्रवेश
गरिब किसान परिवारमा जन्मेका उनले सानै देखि शोषण र दमनमा परेका किसानको पक्षमा आवाज उठाउने गर्थे । ‘गाउँमा सामन्ती शोषण थियो । सुदखोरीहरु थियो । हामी माथि निक्कै अन्याय गरेको थियो ।’ विगत संझिंदै लालध्वज भन्छन्, ‘शोषण, अन्या र अत्याचारको विरुद्ध मैले बोलें ।’

यहीं क्रममा उनले वर्ग संघर्षको सिद्धान्त बोकेको पार्टी, अन्याय अत्याचार, शोषण, दमणका विरुद्ध बोल्ने पार्टी फेला पारे । उनले २०४४ सालमा नेकपा (मशाल) अर्थात बोलिचालीमा मोटो मशाल पार्टीलाई भेटाए ।प्रचण्डले नेतृत्व गरेको सो पार्टी भेटेपछि सोही सालमै उनी सेल कमिटीको सदस्य भएका थिए ।

पञ्चायत विरोधी आन्दोलनमा समेत भाग लिने मौका उनले पाएका थिए । संयुक्त जन आन्दोलन संयोजन समितिको नेतृत्वमा चालेको क्रान्तिकारीहरुको आन्दोलनमा लालध्वज पनि सहभागी भएका थिए । त्यतिखेर नै उनले गणतन्त्रको नारा सडकमा घन्काएका थिए । ‘हामी नौलो जनवादी क्रान्ति गर्दै थियौं । हामी जनवसम्म नौलो जनवादी व्यवस्था स्थापना हुँदैन तबसम्म निरन्तर संघर्ष गर्ने पक्षमा थियौं ।’ उनी भन्छन्, ‘तर संझौता भयो, बहुदलीय व्यवस्थाको स्थापना भयो । तैपनि निरंकुश पञ्चायत भन्दा त यो प्रगतिशिल नै थियो ।’

२०४६ सालको परिवर्तन पछि लालध्वज
२०४६ सालको आन्दोलन पछि नेपालमा क्रान्तिकारी ध्रुविकरणले तिब्रता पायो । सोही क्रममा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन र नेकपा (चौम) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि लालध्वज २०४८ साल नेकपा (एकता केन्द्र)को तेमाल इलाका कमिटी सदस्यमा भए । २०४९ सालमामा सम्पन्न जनवादी युव लिग काभ्रेको भेलाबाट उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए । त्यसैगरि उनी २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर संगठनको केन्द्रिय सदस्य भए ।

माओवादी निर्माण देखि २०६२/०६३ सालसम्म लालध्वज
नेकपा (एकता केन्द्र) निर्माण पछि पार्टी भित्र मुख्यतः क्रान्तिको मोडलको बारेमा तिब्र बहस चलिरहेको थियो । नेपालको सन्दर्भमा ‘रसियन मोडल या चाइनिज मोडल’ भन्ने बहस निक्कै पेचिलो ढंगले चल्यो । ‘यो बहसमा हामी निक्कै चासो र चिन्ताका साथ लाग्यौं । निक्कै ठूलो बहस भयो ।’ लालध्वज भन्छन्, ‘अन्ततः २०५१ सालमा पार्टी विभाजन भयो । हाम्रो लाइनले ‘नेकपा (माओवादी) पार्टी निर्माण गरेर अघि बढ्यौं ।’

२०५१ सालमा पार्टी बिभाजन भएपछि उनी नेकपा (माओवादी) को पूर्वाञ्चल ब्यूरोको कार्यालय सटाफ भएर काम गरेका थिए । भूमिगत अवस्थमा समेत पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध भएका नेताहरु मध्य लालध्वज पनि एक थिए । पार्टीको तत्कालीन पूर्वाञ्चल ब्यूरो इन्चार्ज यानप्रसाद गौतम (आलोक)सँगै भएको कारण अध्यक्ष प्रचण्डसँग त्यतिखेर देखि नै चिनजान भइसकेको थियो ।

जनयुद्धको तयारी र शुरुवातमा लालध्वज
पार्टीले शसस्त्र जनयुद्ध गर्ने रणनीति लिएपछि लालध्वज यसको तयारीमा पूरै लागेका थिए ।  ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं ।’ भन्ने मूल नाराका साथ २०५२ साल फागुण १ गतेका दिन शुरु भएको जनयुद्धको पहिलो मोर्चा सिन्धुली गढी प्रहरी चौंकी आक्रमणमा उनी सहभागी भएका थिए । ‘हाम्रो पहिलो फौजी मोर्चा थियो । सफल भयो ।’ उनी भन्छन् ।

यसैगरि २०५३ साल पौष १९ गते रामेछापको वेथान मोर्चामा समेत उनी सहभागी भए । सो मोर्चामा जिल्ला सेक्रेटरी समेत रहेका पार्टी नेतातिर्थ गौतमको सहादत भएपछि लालध्वज पार्टीको काभ्रे–रामेछाप जिल्ला समिति सदस्यमा चयन भए । त्यसपछि उनले मुख्यतः तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा लागे । कठोरपूर्ण भूमिगत अवस्थामा समेत पार्टीको संगठन निर्माण, विस्तार र सुदृढिकरणमा लागेका थिए ।

सोा क्रममा तत्कालीन सरकारले २०५५ सालमा चलाएको किलोसेरा टु अप्रेसनको प्रतिरोध गर्दै पार्टी, कार्यकर्ता र जनताको रक्षाका लागि इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए उनले । निरन्तर अगाडि बढ्ने क्रममा २०५७ सालमा उप–क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्यमा चयन भएका थिए । साथै २०५८ मा काभ्रे जिल्ला सेक्रेटरी समेत भए । जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ सालमा रामेछाप, सिन्धुली र काभ्रेको जनमुक्ति सेना नेपालको रेजिनल कमान्ड को कमिसारको भूमिका समेत उनले निर्वाह गरेका थिए ।

विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा पार्टी केन्द्रिय समिती सदस्य समेत भएका थिए । निरन्तर केन्द्रिय सदस्य हुँदै हाल आठौं महाधिवेशनबाट केन्द्रिय सदस्य र पोलिटब्युरो सदस्य चयन भएका छन् भने काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा उनको कुशल नेतृत्वका कारण काभ्रेको १३ स्थानीय तह मध्य ४ वटामा अध्यक्ष र ४ वटामा उपाध्यक्ष सहित २५ वटा वडामा आफ्नो पार्टीको बर्चस्व कायम गराउन सफल भएका छन् ।

जनप्रतिनिधिको रुपमा लालध्वज
माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२÷०६३ को जनआन्दोलन पछि पुनस्र्थापित प्रतिनिधि सभाको सदस्यमा उनी चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वजले डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याउनेमा पर्छ ।

सोही क्रममा २०६८ सालमा उर्जा राज्यमन्त्री समेत भएका उनले उर्जा क्षेत्रमा निक्कै विकास गरेका छन् । २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७४ मा भने उनी उम्मेदवार बनेनन् तर आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन उनले पार्टी जिल्ला इन्चार्जको हैसियतले भूमिका खेले । उनको कुशल नेतृत्वकै कारण वाम गठबन्धनका सबै उम्मेदवारहरुले काभ्रेको सबै क्षेत्रमा जीत हाँसिल गर्न सफल भयो ।

काभ्रेमा समृद्धिको जग बसाल्ने लालध्वज
माओवादी जनयुद्धकै बेला पनि लालध्वजको नेतृत्वमा विकासको पूर्वाधारको जग निर्माण गरिएको थियो । सडक निर्माण देखि शिक्षा र विजुलीसम्मको कार्य उनकै नेतृत्वमा भएको थियो । ग्रामिण क्षेत्रको कष्टकर जीवनलाई सहजमा बदल्न उनले भूमिगत कालमा समेत धेरै काम गर्न खेजे । सहिद मार्गको नामाकरण गरेर उनकै नेतृत्वमा जनमुक्ति सेनाले मकवानपुरको भोर्लेनी देखि महाभारतको घर्तिछापसम्म सडक निर्माण युद्धकालमै निर्माण गरेको थियो ।

त्यस्तै विभिन्न ठाउँमा भत्केको विद्यालय भवन समेत उनकै नेतृत्वमा जनमुक्ति सेनाले निर्माण गरेको थियो । काभ्रेको तेमालमा विद्युतिकरणको योजनाकार र पहलकर्ता नै लालध्वज थिए । भूमिगत कालमा समेत जनतालाई अन्धकारबाट हटाएर उज्यालो दिन चाहने नेता लालध्वजकै कारण आज तेमालबासी उज्यालोमा छन् ।

जनप्रतिनिधि भइसकेपछि विकास र समृद्धिको अभियानमा लाग्न झन सहज भयो । मुख्यतः ग्रामिण क्षेत्रलाई सडक र विद्युतसँग कसरी जोड्ने भन्ने चिन्ता उनमा थियो । सोही अनुसार उनले विकट क्षेत्रको रुपमा परिचित डाँडापारी क्षेत्र र कोशिपारी क्षेत्र, अनि तेमाल र रोशी क्षेत्रमा सडक निर्माणको पहल नै उनले गरे । साविकको सबै गाविस छुने गरि सडक सञ्जालको जग बसाल्ने शुरुवात कर्ता नै लालध्वज हुन् ।

खोपासी तालढुंगा सडक निर्माण अलपत्रमा थियो । उनकै सचेत पहलमा आज व्यवस्थित भएको छ । दोलालघाटदेखि कोशिपारी क्षेत्रको भुम्लु हुँदै वाङथली, ढाँडखर्क भञ्ज्याङ, बिर्तादेउराली–कात्तिके देउराली सडक, ढाँडखर्क देखि माझीफेदा हुँदै नाग्रेगगर्चेसम्मको सडक निर्माणको पहल लालध्वजले नै गरेका थिए ।

तेमाल र रोशी क्षेत्रमा समेते सडकहरु निर्माणकार्यको शुरुवात उनले नै गरेका थिए । काकाकुल तेमालका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाकार समेत लालध्वज हुन् । उनकै परिकल्पना र पहलमा आएको तेमाल बृहत खानेपानी योजना हाल अन्तिम चरणमा पुगेको छ । साथै तेमालमा तामाङ संग्रहालय निर्माण समेत शुरुवात भइसकेको छ । अन्य क्षेत्रमा खानेपानी, विद्यालय भवन निर्माण लगायतका कार्यहरु भएको छ ।

लालध्वजः नामै काफी
गठबन्धन दलहरुको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको छ । जनता प्रति इमान्दार, राष्ट्र प्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउदै आएका उनलाई मन नपराउने सायद कोही पनि छैनन् । बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्ला भरि चिन्दछ उनलाई । समस्याको उपायको पर्याय बनेको लालध्वज काभ्रेको प्रभावशाली नेताको रुपमा परिचित छ ।

राजनीतिक रुपमा विभेद नगर्ने समान रुपमा व्यवबहार गर्ने नेताको रुपमा उनी काभ्रेमा स्थापित छ । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनी प्रतिको विश्वास र अपेक्षा हो । सिधै अध्यक्ष प्रचण्डसँग सम्बन्ध भएको काभ्रेको नेताको रुपमा उनलाई चिन्दछ ।

बाँकी पनि जीवन राष्ट्र र जनताको लागि
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ बाट लालध्वज उम्मेदवरको रुपमा खडा भएका छन् । वाम–लकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुन् लालध्व्ज । काभ्रेलाई समृद्ध बनाउने नेतृत्व गर्नका लागि चुनावी मैदानमा उत्रेको बताउने उनले युवाहरुलाई अवसर दिने कुरालाई पहिलो प्राथमिकता राखेका छन् ।

आजसम्मको जीवन राष्ट्र र जनताको लागि आफूलाई समर्पित गरेका लालध्वजले बाँकी जीवन पनि राष्ट्र र जनताकै लागि समर्पण गर्ने उनको संकल्प छ । आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको अभियानमा लाग्ने उनको कथन छ । ‘मैले मेरो उर्जाशील समय बलिदानी पूर्ण आन्दोलन र शान्तिको लागि समर्पण गरें । व्यवस्था फेरिएको छ, जनताको अवस्था फेर्न बाँकी जीवन समर्पण गर्न चाहन्छु ।’ लालध्वज भन्छन्, ‘मेरो नाफाको जीवन हो, व्यवस्था परिवर्तन र शान्तिको नेतृत्व गर्न जनताले जसरी साथ थियो, त्यसैगरी अब समृद्धिको नेतृत्व गर्न पनि साथ दिनुहोस्, आगामी निर्वाचनमा म गठबन्धनको साझा उम्मेदवारको रुपमा खडा भएको छु । तपाईंको अमुल्य मत मलाई दिएर विजयी गराउनुहुन आम जनतामा अनुरोध गर्दछु ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय