काभ्रे । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीलाई तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले म्यादी प्रहरीलाई प्रदान गरेको तालिम आज (मंगलबार) सम्पन्न भएको हो । अशोज ३० गतेबाट सुरु भएको तालिम आज धुलिखेलमा एक कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन सफल बनाउन, अमर्यादित व्यवहार नगर्न, गोपनियता कायम राखी निर्वाचनलाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्ने नेपाली प्रहरीको योजनामा समन्वय गर्न आग्रह गरिन् ।
निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन सम्पन्न भए पछि पुरा गर्नु पर्ने जिम्मेवारीका बारेमा तालिम अवधिमा सिकाइएको प्रशिक्षण व्यवहारमा निष्पक्षका साथ कार्यान्वयन गर्न म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले अनुरोध गरे ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका १३ वटा पालिकामा तोकिएका १ सय ९० वटा मतदान स्थल, ३ सय ८१९ मतदान केन्द्र र अस्थायी २ वटा मतदान केन्द्रका लागि १ हजार ४ जना नेपाल प्रहरी र १ हजार ८ सय ८७ जना म्यादी प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले आवेदन दिएका २ हजार ४ सय ६२ जना मध्ये १ हजार ८ सय ८७ जना छनौट गरी तालिम प्रदान गरेको थियो । पाँचखालमा २ सय ९५, बनेपामा ५ सय ११, पनौतीमा २ सय ९५, भकुन्डेमा १ सय ३२, धुलिखेलमा ६ सय ५४ जनालाई तालिम दिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुन्डी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार निर्वाचनमा आवश्यक पर्ने भिड नियन्त्रण, मतदाता, मतदान स्थलको सुरक्षा, मतपेटिका, मतगणना स्थलको सुरक्षाको बारेमा जानकारी गराइएको छ ।
तस्बिरहरु :





















