काभ्रे । लोकतान्त्रिक बाम गठबन्धनले काभ्रेको पाँचखाल नगरपालिकाका विभिन्न चार ठाउँमा कोणसभा गरेको छ ।
काभ्रे प्रतिनिधि सभा २ का उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहितको उपस्थितमा आज चार ठाउँमा कोणसभा गरिएको हो ।
गठबन्धनले पाँचखाल नगरपालिका वडा नम्बर १३ को कोशीदेखा स्थित रोटेपिङ, वडा नम्बर ७ को श्रीरामपाटी स्थित किटीनी, वडा नम्बर १० को चापाको बोट र वडा नम्बर ६ को तिनपिप्लेमा कोण गरेको हो । चार वटै कोणसभा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार हुमागाईले गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न गठबन्धन दलका अगुवा नेता कार्यकर्तालाई आग्रह गरे । हुमागाईले जनतासँगै मिलेर, जनताकै आवश्यकताको आधारमा विकास निर्माणको काम गर्ने बताए ।
हुमागाईले २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट विजयी भएका संघीय सांसदले अरुले गरेका राम्रो पिच, राम्रो स्वास्थ्य चौकी, अस्पताल, सिँचाई, खानेपानीका आयोजना आफैले गरेझै गरी प्रचार गरिरहेको सामाजिक सञ्जालमा देखेको भन्दै यस्ता झुटका पछि नलाग्न आग्रह गरे ।
प्रदेश सभाका उम्मेदवार लम्सालले आफुले पाँच वर्ष कुशलता पूर्वक पुरा गरेको भन्दै फेरी एक पटक सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो । पाँच वर्षे कार्यकालमा पनि आफ्नो क्षमताले भ्याएसम्मको विकास निर्माणको काम गरेको भन्दै उहाँले आगामी दिनमा कोही कसैलाई विभेद नगर्ने बताए ।
कोणसभामा समानुपातिक उम्मेदवार लक्ष्मी दनुवार र कल्पना श्रेष्ठपनि सहभागि हुनुभएको थियो । उम्मेवारहरुलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला, नगर तथा वडा स्तरका नेता कार्यकर्ताले साथ दिएका थिए ।
गठबन्धनले हिजो वडा नम्बर ८ को होक्से बजार, वडा नम्बर ९ को भगवतीस्थान र वडा नम्बर ११ को जैसीथोक स्थित सातदोबाटोमा कोण तथा मतदाता भेटघाट कार्यक्रम गरेको थियो । पाँचखालमा गठबन्धनको भोली पनि चुनावी कार्यक्रम रहेको छ ।



















