जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्ने तागत र क्षमता हामीसँग छ : तीर्थ लामा
काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रतिनिधिसभा १ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार तीर्थ लामाले विकास गर्ने अनुभव र क्षमता आफूहरुसँग भएको बताएका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं. ०७ को चुनावी भेटघाटलाई सम्बोधन गर्ने क्रममा उम्मेदवार लामाले आफूहरुसँग कसरी विकास गर्ने, विकासका लागि कुन कुन ठाउँमा पुग्नुपर्छ भन्ने अनुभव र क्षमता भएकाले आफूहरुबाट विकास सम्भव हुने बताएका हुन् ।
उनले भने, ‘हामी काम गर्न सक्ने तागत क्षमता भएको उम्मेदवार हौँ । बजेट ल्याउने र काम गर्ने तौर तरिका हामीलाई थाहा छ । ठूला कुरा गरेको होइन, कसरी विकास गर्ने भन्ने तागत र क्षमता दुवै हामीसँग छ ।’
आफूहरुको मुख्य प्राथमिकता जनताको जीवन परिवर्तन गराउनेमा रहने भन्दै उनले आगामी ५ वर्ष जनताको समस्या समाधान गर्ने काममा आफूहरु केन्द्रित हुने बताए । उनले प्राप्त अधिकारलाई संरक्षण गर्नका लागि गठबन्धनलाई भोट दिन आवश्यक भएको तर्क राख्दै एमालेले लोकतन्त्रको आधारस्तम्भ भत्काउने काम गरेको समेत औल्याए ।
उम्मेदवार लामाले आफूहरुले जनताको बीचमा साँचो बोल्ने र बोलेको पूरा गर्ने बताउँदै भने, ‘जनतालाई ठग्ने काम हो । जनतालाई हामी झुक्याउन चाहन्नौँ, जे बोल्छौँ त्यही गर्छौ ।’