काभ्रे । नेपाली कांग्रेसका सभापति एवम् काभ्रे-१ प्रदेशसभा (ख) का उम्मेदवार तीर्थ लामाले सहिदका सपनाहरु पूरा गर्नका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु मतदान गर्नुपर्ने धारणा राखेका छन् ।
धुलिखेल नगरपालिका वडा नं। ९ मा आयोजित मतदाता भेटघाट तथा घरदैलो अभियानमा लामाले यो व्यवस्था ल्याउन हजारौं सहिदहरुले रगत बगाएको र उनीहरुले सुन्दर नेपालको परिकल्पना गरेर बलिदान गरेको हुनले ती सहिदहरुको सबै सपना पूरा गर्न लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राखेका हुन् ।
विगतमा ओलीले नेतृत्व गरेको नेकपालाई जनताले बहुमत दिँदा दुई दुई पटक संविधानको हत्या गर्ने प्रयास गरेकाले संविधानको हत्याराहरुलाई मत दिएर सहिदको सपना पूरा नहुने जिकिर गरेका थिए ।
उनले थप भने ‘आज हामी जुनु व्यवस्थामा छौँ यो व्यवस्था ल्याउन मृत्युको कुनै प्रवाह नगरी जनयुद्ध लडेका लालध्वज यो क्षेत्रमा मत माग्न आउनु भएको छ, संगै म रुख चिन्ह लिएर प्रदेशसभा सदस्यको लागि मत माग्न आएको छु, हामीले जिते मात्रै जनभावना अनुरुप काम हुनेछ, तपाईंहरुले केही दिन खट्नुस् हामी पाँच वर्ष तपाईंहरुको लागि खट्नेछौं ।’
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं काभ्रे -१ का प्रतिनिधिसभाका उम्मेदवार सुर्यमान दोङ लालध्वजले जनताको पहुँचभन्दा आफूहरु कहिल्यै टाढा नरहने बताएका थिए ।





















