काभ्रे–२ : हुमागाई र बाँस्कोटामा को मजबुद ?
काभ्रे । निर्वाचन नजिकिँदै गर्दा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल थप रोचक बन्दै गइरहेका छ । यो निर्वाचन क्षेत्रमा एमालेबाट गोकुल बास्कोटा र लोकतान्त्रिक बाम गठबन्धनबाट शिव प्रसाद हुमगाई उम्मेदवार छन । बास्कोटा २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट लोकप्रिय मतका साथ विजयी भएका थिए ।
नेपाली कांग्रेस उम्मेदवार मधु प्रसाद आचार्यलाई १७ हजार ८४८ मतान्तरले पराजित गरेका थिए । देशभरको निर्वाचन क्षेत्रमा बास्कोटाले पाएको सबैभन्दा बढी मत पाउनेको तेस्रो नम्बर थियो । त्यो बेला बास्कोटा माओवादी र एमालेको गठबन्धनबाट उम्मेदवार थिए ।
निर्वाचन क्षेत्र नम्बर २ मा ६६ वटा वडा पर्दछ । मण्डनदेउपुर, पाँचखाल, बनेपा नगरपालिका र भुम्लु गाउँपालिकाका सबै वडा, पनौती नगरपालिकाको वडा नं १, २, ३, ११ र १२, धुलिखेल नगरपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७, बेथानचोक गाउँपालिकाको वडा नं १,२,३,४ र ५ पर्छ ।
स्थानीय तहलाई आधार मान्ने हो भने यो क्षेत्रको ६६ वडामध्ये ३९ वटामा सत्तारुढ गठबन्धनको दलको उम्मेदवार विजयी भएका थिए । २५ वटामा नेकपा एमालेका र एउटा वडामा राप्रपाका उम्मेदवार विजयी भएका थिए । त्यही निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धन १६ हजार भन्दा बढी मतका साथ अघि छ ।
बास्कोटा २०७४ सालको निर्वाचनमा जस्तो शक्ति शाली छैन । किन भने एमाले विभाजन हुँदा उनकै क्षेत्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् । उनले नेकपाकालिन माओवादीको केही साथ मिलेपनि अघिल्लो निर्वाचनको जस्तो सहज छैन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाको क्रिज निकै घटेको छ । अहिले कार्यकर्ता तहमा पनि उत्साह खासै देखिदैँन । गठबन्धन दलभित्रको असन्तुष्टि समूहको मत आफुतिर तान्ने ध्याउन्नमा बास्कोटा लागेको देखिन्छ ।
गठबन्धनका उम्मेदवार हुमागाईलाई आफ्नो पार्टीका नेताहरु ब्यवस्थापन बाहेक अन्य समस्या देखिदैँन । खास गरी मधु प्रसाद आचार्य समूह अझै पनि खुलेर हुमागाईको पक्षमा मत मागेर हिड्न सकेको छैन । आचार्य पनि टिकटको मुख्य दाबेदार हुनुहुन्थ्यो । आचार्य २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रमा बास्कोटासँग पराजित भेका थिए ।