काभ्रेमा फेरी देखियो रेबिज

काभ्रे । काभ्रेमा फेरी पनि रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको संक्रमण देखिएको हो। यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए। वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो । वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शंकास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताए । उनले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिए।
गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् । कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताएका छन् ।
केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताए। उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्षनै रहिरहने देखिएको छ । यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो ।
स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनायो।
शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।