काभ्रे । जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आज (शुक्रबार) जिल्ला भरिका हजारौं जनताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्वप्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा रहेको बताएकी छिन् ।
कोइरालाले देशमा लैङ्गिक हिंसाको अवस्था भयावह भए पनि यसबारे राजनीतिक दलका नेताहरू बोल्नै नचाहेको आरोप लगाइन् । ‘लैङ्गिक हिंसाको स्थिति देशमा डरलाग्दो छ तर नेताहरू यसबारे बेखबर झैँ रहेर बोल्नै चाहँदैनन् ।’ उनले भनिन् ।
त्यस्तै उनले महिला तथा बालबालिका बेचबिखन पनि उत्तिकै मात्रामा रहेको बताउँदै राज्यले पहलकदमी नलिएसम्म यसको नियन्त्रण सम्भावना नहुने जिकिर गरिन् । सिमित संस्थाको पहलमा मात्रै हिंसा रोक्न नसक्ने उनको भनाइ थियो। त्यस्तै उनले काभ्रेको सन्दर्भमा अहिले सबैभन्दा बढी रोशीबाट महिला तथा बालबालिका बेचबिखन भइरहेको बताइन् ।
यसैगरी पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले माओवादी आन्दोलनले समानुपातिक समानतासँगै लैङ्गिक हिंसाविरुद्ध समेत आवाज उठाएको बताए ।
पूर्वमन्त्री तथा काभ्रे–२ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले देशबाट पुँजीवाद हराएमा मात्रै देशमा हिंसा हट्ने बताए । उनले पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म लैङ्गिक हिंसा रहिरहने दाबी समेत गरे ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले लैङ्गिक हिंसाको अभियानमा आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।




















