घट्ला इन्धनको मूल्य ?
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनअनुसार पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्नेमा अन्योल भएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो उद्योग, वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर इन्धनको मूल्य घटाइ नागरिकलाई राहत दिन निर्देशन दिएका थिए ।
मूल्य समायोजनको निर्णय नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गर्छ । सञ्चालक समितिका अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहने व्यवस्था छ । प्रधानमन्त्रीको निर्देशन पाएका उद्योग मन्त्रालयका सचिव तोयम रायाको हिजै अर्थ मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँ वाणिज्य मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनी पुगेका छन । अर्थ मन्त्रालयमा सरुवा भएका रायाको बिदाइ र उनको ठाउँमा पुगेका मरासिनीको स्वागत आज हुँदैछ ।
पुरानो सचिवको बिदाइ र नयाँ सचिवको स्वागतको कार्यभएकाले प्रधानमन्त्रीको निर्देशनअनुसार मूल्य घटाउनेबारे आज छलफल हुने सम्भावना कम छ । मूल्य समायोजनको निर्णय सञ्चालक समितिको बैठकले गर्ने गरेको र आज बैठक बस्ने सम्भावना कम रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । बैठक बसे पनि आजै निर्णय हुन सम्भावना कम रहेको उनले बताए ।
उद्योग मन्त्रालयबाट सरुवा भएका रायाले आफ्नो सरुवा भइसकेकाले यस विषयमा केही पनि भन्न नसक्ने बताएका छन । ‘यो सरकारको नियमित काम हो, सरुवा भइसकेको मान्छेले केही भन्नै मिल्दैन, अहिले मैले केही भन्ने स्थिति छैन’ उनले भने ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई ऋण र बक्यौता तीर्न बाँकी रहेको भन्दै भाउ घटाएको छैन । यो महिनाको १५ दिनमा नै निगमले एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको छ । पुस १६ गतेदेखि ३० गतेसम्म थप ९९ करोड १२ लाख नाफा हुने अनुमान गरिएको छ ।
भारतबाट ८५ रुपैयाँ ३५ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा १६३ रुपैयाँ ३४ पैसा पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बेच्दै आएको छ । त्यस्तै, प्रतिलिटर एक सय ६७ रुपैयाँ ८२ पैसा लागत पर्ने डिजल एक सय ७५ रुपैयाँमा र एक सय ३१ रुपैयाँ २१ पैसा लागत पर्ने मट्टीतेल एक सय ७५ रुपैयाँ लिटरमा बिक्री भैरहेको छ । पुरानो ऋण घटाउन भन्दै निगमले भाउ घटाएको छैन ।
यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९ रुपैयाँ ३५ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले नियमित रूपमा नोक्सान खेप्दै आएको छ ।