लोसपाले मधेस प्रदेशको दलको नेता आज चुन्दै
मंगलबार, पौष २६, २०७९ | ९:२०:२१
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीको तयारी छ । दलको नेतामा मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र पूर्व राज्यमन्त्री अभिराम शर्मा आकांक्षी रहेका छन् ।
महोत्तरीमा लोसपाले प्रत्यक्षमा तीन प्रदेशसभा सांसद जितेको छ भने समानुपातिकमा दुई जना सांसद पनि महोत्तरीले नै पाएको छ । यसरी ९ जना मध्ये पाँच जना प्रदेश सांसद महोत्तरीबाट निर्वाचित भएर आएका छन् ।
गत शुक्रबार बसेको मधेस प्रदेशका सांसदहरुको बैठकले संसदीय दल विधान संशोधन गरेर पठाइसकिएको छ । सोमबार नै दलको नेता चयन गर्ने भनिए पनि तयारी पूरा हुन नसक्दा आज प्रदेशसभा सदस्यहरुको बैठक बसेर संसदीय दलको नेता चयन गर्न लागेको हो ।
मधेस प्रदेशमा दुई समानुपातिकसहित ९ जना सांसद रहेको छ । मधेस प्रदेशमा लोसपा सरकारमा सहभागी हुने सम्भावना कम छ । त्यसैले संसदीय दलको नेता चयनमा हतार नगरेको एक जना प्रदेश सांसदले बताए ।