काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौँ तथा प्रदेश राजधानी हेटौँडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेशस्थानसम्मको साढे तीन किलोमिटर खण्डको स्तरोन्नति सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिहरूले सडक स्तरोन्नति कार्यको उद्घाटन गरेका हुन । गाउँपालिकाको चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नति गर्न लागेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताए ।
सडक स्तरोन्नतिपछि गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामाग्रीहरूलाई सहज र छिटो रूपमा निर्यात गरेर ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीले बताए ।
आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ । ५ दशमलव ५ मिटर चौडाइको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने तथा ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरूमात्रै कालोपत्रेका लागि प्रयोग गरिने गाउँपालिकाका प्रवक्ता मधुसूदन तिम्सिनाले जानकारी दिए ।





















