
काभ्रे । जिल्लाको खानीखोेला गाउँपालिकाले सामुदायिक (छाडा छोडिएका) तथा घरपालुवा एक सय बढी कुकुरको बन्ध्याकरण गरेका छन् । गाउँपालिकाभित्र छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत टोक्न थालेपछि तीन दिने शिविर सञ्चालन गरी एक सय ५ वटा कुकुरलाई नियन्त्रणमा लिई बन्ध्याकरण गरेका हुन् ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप समेत लगाइएको बताए । रेविज रोग नियन्त्रण तथा न्युनीकरण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको उनको भनाई छ । अध्यक्ष थिङले भने, ‘छाडा कुकुरहरुको बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन । यसले रेविजको जोखिम पनि कम हुन्छ ।’
गाउँपालिकाको पशु शाखाका प्रमुख हेमन्त घिमिरेले गाउँपालिकाको पुश शाखा मार्फत् नेपाल एनिमल वेलकेयर एण्ड रिसर्ज सेन्टर बनेपा काभ्रेको प्राविधिक सहयोगमा कुकुरहरुलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप तथा लुतो जस्ता छाला सम्बन्धि रोगको औषधि समेत लगाइएको बताए । उनका अनुसार २ वटा विरालो सहित ६९ भाले र ३८ पोथी कुकुरको बन्ध्याकरण गरेका छन् ।
पशु शाखाका पशु प्रविधिक अमृत सापकोटाले नेपाल एनिमलका डा. सुरज श्रेष्ठ, डा. सुजन अधिकारी सहितको टोलीले बन्ध्याकरण शिविरमा पहिलो दिन गाउँपालिकाको ताल्ढुंगा बजारसँगै हात्तीसार क्षेत्रका २५ भाले र १५ पोथी गरी ४० वटा कुकुर, दोस्रो दिन धार्ने, फलामेटार क्षेत्रको २० भाले र १० पोथी गरी ३० वटा र तेस्रो दिन फुलडाँडा, आँपटार, सल्धाराको तल्लो भेग र महाँकाल क्षेत्रका २२ भाले र १३ पोथी गरी ३५ वटा कुकुरको बन्ध्याकरण गरेको जानकारी दिए । छुटेका स्थानलाई समेट्ने गरी कुकुर बन्ध्याकरण कार्यलाई आगामी दिनमा निरन्तरता दिइने गाउँपालिकाको पशु शाखाले जनाइएको छ ।