कांग्रेसले आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप, निर्वाचन आयोगमा उजुरी दर्ता
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनमा कांग्रेसले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । मौन अवधीमा चुनावलाई प्रभावित गर्ने गरी पार्टी बैठक बसालेर निर्णय गरेको र त्यसले अन्य मतदातालाई प्रभावित पार्ने काम गरेको आरोप एमालेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा उसले निर्वाचन आयोगमा उजुरी समेत दर्ता गराएको छ ।
आयोगले मंगलबार मध्यरातदेखि उपराष्ट्रपति निर्वाचनको चुनावी प्रचारप्रसार गर्न नपाउने निर्वाचन कार्यतालिका बनाएको थियो । आयोगले हिजो मध्यरात देखि निर्वाचनको दिन चैत ३ गतेसम्म मौन अवधी राखेको छ ।
प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले कांग्रेसले आचारसंहिता विपरित कार्य गरेको उल्लेख गर्दै एमालेले उजुरी गरेको जानकारी दिएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बर्तौलाले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गएरातिबाट निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा उपराष्ट्रपति पदका उम्मेदवार राम सहाय यादवको पक्षमा मत मागेको बताएका हुन्।
‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ। शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा कसैले मत माग्नु वा निर्वाचनलाई प्रभावित गर्ने गरि उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ। तर शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिता विपरित उपराष्ट्रपतिमा राम सहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ।’
उनले थपेका छन्, ‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ। यसले निर्वाचनको मर्यादा, स्वच्छ्ता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ। आचारसंहिता उल्लंघनको यस निर्णयप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं। यस बारेमा हामीले निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेका छौं।’
उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा उम्मेदवार छन् । प्रमिला यादवले आफनो उम्मेदवारी निश्क्रिय बनाएपनि उनको पनि नाम भने मतपत्रमा हुनेछ । कांग्रेसले बुधबार पार्टी बैठक बोलाएर जसपाका यादवलाइ मत दिने निर्णय गरेको थियो ।