जिसस काभ्रेले गर्यो वार्षिक समीक्षा

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जिल्लाका १३ वटा पालिका र विषयगत पालिकाहरुले गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिले उक्त अवसरमा पालिकामा भएका गतिविधिहरुका बारेमा तयार गरेको प्रतिवेदन पुस्तक समेत प्रकाशन गरेको छ ।
जिल्लामा ४२ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १६ वटा प्रदेश अन्तर्गतका कार्यालय रहेका छन् । १३ वटा पालिकामा भएको बजेट र त्यसको कार्यान्वयन तथा भुक्तानीका बारेमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक लेखनाथ रेग्मीले जानकारी गराउँदै विकास खर्च संघ अन्तर्गतको बजेटबाट ४६ प्रतिशत मात्रै भएको तथ्याङ्क प्रस्तुत गरे ।
प्रदेश तर्फ विनियोजन भएको बजेटमा ५७ प्रतिशत खर्च भएको छ भने पालिकाहरुमा विनियोजन भएको बजेट ६२ प्रतिशत खर्च भएको छ । असार १० गतेसम्म विनियोजन भएको पुँजीगत खर्चमा उल्लेख्य प्रगति हुन नसकेको प्रतिवेदनले जिल्लाका सबै कार्यालय र स्थानीय तहको प्रगतिमा प्रश्न उठेको छ । सहभागिहरुले बजेट प्राप्त हुँदा समेत खर्च हुन नसकेको प्रति भएका समस्याहरु केलाउन सुझाव दिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन अनुरोध गरे । प्रदेश अन्तर्गतका मन्त्रालय र जिल्लामा रहेका कार्यालय पनि काम विहीन भएकाले त्यसको संख्या कटौती गरी स्थानीय तहलाई बलियो बनाउन गौतमले अनुरोध गरे ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपालको शिक्षा प्रणाली वा पछिल्लो समय बालबालिकाहरुको उच्च शिक्षामा नेपाल भन्दा बाहिर देश प्रति देखिन थालेको मोह भङ्ग गराउनु पर्ने बताए । राजधानीबाट नजिक रहेको काभ्रे शैक्षिक हवका रुपमा विकास हुँदै गए पनि उच्च शिक्षा र उच्च शिक्षा प्राप्ति पछि रोजगारका अवसरका बारेमा ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसदहरु, पालिकाका प्रमुखहरु, कार्यालय प्रमुखहरुले पालिका तथा जिल्लामा भएका विभिन्न योजना र योजनामा भएको प्रगति तथा समस्याका बारेमा छलफल भएको थियो ।