बेथानचोक बन्यो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका

काभ्रे । बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा भएको छ ।

बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोह बीच बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नु गरेको हो ।

यससँगै बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने काभ्रेको पहिलो स्थानीय तह भएको छ । सो घोषणा सभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बागमती प्रदेशसभा सदस्य बादे समक्ष अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्न प्रस्ताव पेश गर्नु भएको थियो ।

प्रस्ताव–पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिकाका ६ वटै वडा कार्यालयमार्फत ४ हजार १ सय ७७ घरधुरीमा बालबालिकाहरुको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका पाँच जना बालक र दुई जना बालिका विद्यालय बाहिर रहेको भेटिएको र उहाँहरुलाई स्थानीय विद्यालयमा भर्ना गरिएकोले गाउँ शिक्षा समितिको मिति २०८० असार १२ गतेको निर्णयानुसार आज मिति २०८० साल असार १३ गते बुधबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न बागमती प्रदेशसभा सदस्य माननीय कञ्चनचन्द्र बादे श्रेष्ठज्यू समक्ष प्रस्ताव पेश गर्दछु ।”

घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश सभासदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताए । उनले शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनु पर्ने बताउँदै शिक्षकहरुले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न आग्रह गरे । सक्षम जनशक्ति उत्पादनमा सामुदायिक विद्यालय अग्रभागमा रहेको बताउँदै उनले शिक्षकहरुले अल्छी गर्न नहुने तर्क राखे ।

उनले राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई मुर्त रुप दिन आफूहरुले संविधान निर्माणका क्रममा गरेको कार्यहरुको स्मरण गराए । अनिवार्य शिक्षालाई संविधानको मौलिक हकले व्यवस्था गरेकोले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण लिन पर्नेमा जोड दिए । उनले शिक्षामा दीर्घकालिन लक्ष्य लिएर एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिकको अवधारणा लिएर स्थानीय तहले शिक्षामा लगानी गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप आफूहरुले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न कार्य गरेको बताए ।

उनले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्न सहयोग पु¥याउनु हुने मेन्टर, गणक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि सबैलाई धन्यवाद दिए ।

कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गरिएको, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाईसमेत परिचालन गरिएको अध्यक्ष अधिकारीले बताए । त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले समेत गर्दै बालबालिकाको खोजी गर्ने, तथ्याङ्क ‘क्रस भेरिफाइ’ गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराउने अभियान लिएर कार्य गरेको बताए ।

अध्यक्ष अधिकारीले शुक्रबारलाई झोला रहित कक्षाका रुपमा सञ्चालन गरी उक्त दिन विद्यार्थीहरुका बहुआयामिक प्रतिभा प्रस्फुटन हुने खालका गतिविधि सञ्चालन गर्ने पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले चौरमा पढाई हुने हिजोको संरचनाबाट सुविधासम्पन्न भवन र प्रविधियुक्त कक्षा कोठा भए पनि सामुदायिक विद्यालयका सिकाइ उपलब्धी दिनानुदिन खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरिन । उनले शिक्षा प्रदान गर्नेजस्तो पवित्र कर्ममा दत्तचित्त भएर लागि पर्न शिक्षकहरुलाई आग्रह गरिन ।

उपाध्यक्ष तिमल्सिनाले समय सीमा भित्रै कार्यक्रमलाई सफल तुल्याउन विशेष भूमिका निर्वाह गर्ने शिक्षा शाखा, गणक तथा सम्बन्धित सबैलाई धन्यवाद दिए । राज्यले लिएको २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने यो महाअभियानमा बेथानचोक जिल्लामै पहिलो हुन सफल भएकोप्रति खुशी व्यक्त गरिन ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताउँदै सोही अनुरुप गाउँपालिकामा पनि कार्य गरिएको जानकारी दिए  ।

यसका लागि शाखाले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी प्रचारप्रसार तथा घरदैलो अभियान सञ्चालन गरेको, विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुको लगत संकलन गरेको, बालविकास सहजकर्ता क्षमता विकास तथा सामग्री निर्माणको ६ दिवसीय तालिम गरेको, विद्यालयमा भर्ना भएका कक्षा ३ सम्मका विद्यार्थीहरुलाई नियमित मेन्टरिङ÷काउन्सेलिङ गरिएको र छाता, अल इनवान पुस्तक, स्टेशनरी लगायत सामग्री खरिद गरी वितरण गरिएको पनि उहाँले जानकारी दिए ।

शाखा प्रमुख राईले अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम यी शीर्षकमा कुनै पनि शुल्क लिनु हुँदैन’ भनेको स्मरण गराउँदै सोही अनुरुप गाउँपालिका भित्रका विद्यालयहरुलाई शुल्न नलिन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बेथानचोकका सभापति भीमप्रसाद तिमल्सिना, नेकपा एमालेका प्रतिनिधि बेदप्रसाद तिमल्सिना, नेपाली कांग्रेस बेथानचोकका सभापति एवं गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना लगायतले बेथानचोक अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा भएकोप्रति खुशी व्यक्त गर्दै शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस