नगरकोटमा हाट बजार शुरु

काभ्रे । पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार शुरु गरिएको छ ।
आजबाट प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार सञ्चालनमा ल्याइएको हो । मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा लाइएको हाट बजारको नगरप्रमुख टोक बहादुर वाईबाले शुभारम्भ गरे ।
हाट बजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुनेछ । प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल ब्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन बृद्धिमा सहयोग गर्न आग्रह गरे । नगरप्रमुख वाईबाले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउन अनुरोध गरे ।
‘नगरकोटका होटलले यहाँकै किसानले फलाएको तरकारी किनिदिनुपर्छ । सबै होटललाई त नपुग्ला तर जति उत्पादन हुन्छ र पुग्छ । त्यो यहाँकै होटलले खपत गरिदिने हो भने उत्पादनपछि किसानलाई बजारको चिन्ता हुँदैन् । यो मेरो अघिल्लो कार्यकालदेखिकै योजना हो । अहिले आएर शुरुवात भएको छ ।यसलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने छौँ । म यहाँका होटल ब्यवसायीलाई आग्रह गर्न चाहान्छु स्थानीय उत्पादन खुवाउनुहोस् ।’ नगरप्रमुख वाईबाले भने ।
नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रमा सितभण्डारण निर्माण गर्न आवश्यक रहेको बताए । ‘तरकारी भनेको छिट्टै कुहिने चिज हो । शुक्रबारको हाट बजारमा बिक्री नभएका तरकारी त्यो रात यहीँ राख्न सकियो भने किसानलाई दुःख कम हुन्छ । त्यसका लागि सितभण्डारण आवश्यक छ । त्यो निर्माणका लागि नगरपालिकाले विभिन्न संघसंस्थासंग साझेदारी गर्छ ।’ नगरप्रमुख वाईबाको भनाई थियो ।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रुपान्तरित नाम महामञ्जुश्री चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा अन्तर्गतकाभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । यो परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसानआबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगत बहादुर शाहीले जानकारी दिए ।
हाटबजारको पहिलोदिन विक्री गर्ने किसान र खरिद गर्ने उपभोक्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । यसलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको नगरप्रमुख वाईबाले बताउनुभएको छ । हाट बजार सञ्चालनमा आएपछि होटल तथा पर्यटन ब्यवसायी निकै खुशी भएका छन् ।