विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो ।
त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका शिक्षा अधिकारी सिताराम कोइरालाले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गर्ने विज्ञप्ति निकालेर जनाएका छन् ।
‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ’ कोइरालाले निकालेको विज्ञप्तिमा लेखिएको छ । महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ ।
यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो । यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।