काभ्रे । बेथानचोक–२, ढुंखर्कमा रहेको भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले अधिकांश जनताले बसोवास गर्ने सुविधाविहीन, गरिबी तथा अशिक्षा, बेरोजगारी, अर्धबेरोजगारी जस्ता समस्या भएका ग्रामिण भेगमा कृषि सहकारीले पुर्याएको टेवा प्रशंसनीय भएको भन्दै भगवती कालापानी साना किसान कृषि सहकारी संस्थाले बेथानचोक क्षेत्रको कृषि तथा पशुपालनमा पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरे । सम्पन्न र विपन्न समाजको असमानताका बीचमा कार्यात्मक सम्बन्ध विस्तार तथा विकास गरी ग्रामीण क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउनु सबैको साझा दायित्व भएको उनको भनाई थियो ।
कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सामुहिक प्रयासबाट जीवनस्तर उकास्ने उद्देश्यले परस्पर मिली समाजमा देखा परेको समस्यालाई निकास दिनुपर्ने बताए । मिलेर काम गरे समस्यालाई जरैदेखि ओखलेर फाल्न सकिने हुनाले भगवती कालापानी साना किसान कृषि सहकारी जस्ता वित्तीय निकायले सामुहिक भाव विस्तारमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ३ का अध्यक्ष कुवेर ढकाल, ५ का अध्यक्ष राजकुमार वाइबा, पार्वती क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेश तिमल्सिना, विन्धवासिनी सहकारी ढुंखर्क सेवाकेन्द्र प्रमुख बलराम अधिकारी, ग्रामिण महिला फलफुल तथा तरकारी सहकारीकी अध्यक्ष बिमला अधिकारी लगायतले कृषिमा रुपान्तरण आवश्यक रहेको र प्रविधियुक्त कृषिमा जोड दिन आग्रह गर्दै भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । प्रवन्धक प्रेम दाहालका अनुसार ७ सय ७३ सदस्य रहनु भएको सहकारीमा ७७ समूह र ११ अन्तरसमूह रहेको छ ।



















