
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट हतकडीसहित भागेका ठगीका आरोपी होटलबाट पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट कमल खड्कालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्का बुधबार जिल्ला अदालत काठमाडौँबाट भागेका थिए।
थुनछेक बहस गराउन प्रहरी वृत्त महाराजगन्जका प्रहरी वरिष्ठ हवल्दार इन्द्रबहादुर सिंजालीले उनलाई अदालत लगेका थिए । त्यसक्रममा बुधबार दिउँसो साढे १ बजे उनी अदालत परिसरबाट हतकडीसहित भागेका थिए ।
उनको खोजीका लागि वृत्त प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो । गेष्ट हाउसमा बसिरहेको अवस्थामा प्रहरीले खड्कालाई फेला पारेको हो ।
खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट दुवाकोटमा रहेको उनको कोठाको डस्टबिनमा भेटिएको थियो। सस्तोमा डलर साट्ने भन्दै उनले ठगी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।