बृहत काभ्रे कृषि महोत्सव राष्ट्रपति पौडेलले उद्धघाटन गर्ने
काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा हुने ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८०’ उद्धघाटन गर्ने तय भएको छ । मूल आयोजक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमका अनुसार महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू मञ्चमा गर्ने तय भएको जानकारी दिए ।
जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा फाल्गुन ४ गतेदेखि ७ गतेसम्म हुन लागेको महोत्सवमा संघ तथा प्रदेश सरकारका मन्त्री, प्रतिनिधी तथा प्रदेश सभा सदस्य, विभिन्न देशका राजदुत, सम्बन्धित मन्त्रालय र कार्यालयका प्रमुख, कृषिको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था र नीजि क्षेत्रलाई समेत आमन्त्रण गरिसकिएको गौतमले जानकारी दिए ।
जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको हो । नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई महोत्सवको उद्धेश्य छ ।
महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने तयारी छ । महोत्सवका लागि करिब १ करोड १५ लाख रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।