सोमबार, बैशाख ०७, २०८३
गणेश लामामाथि व्यवसायी अपहरणको आरोप

काठमाडौँ । प्रहरीले व्यवसायी ज्ञानेन्द्र खड्कालाई अपहरण गरी २० करोड रुपैयाँ फिटौटी माग गरेको घटनाको अनुन्धान थालेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले यस सम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागि फाइल ललितपुर जिल्ला प्रहरी परिसरमा पठाएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सहदेव कक्षपतिको समूहले अपहरण गरेको आरोपमा २०८० माघ २८ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंमा व्यवसायी खड्काले जाहेरी दिएका थिए । खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई २०८० पुस २३ गते ललितपुरको धोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित लन्डन हाउसमा ८ घण्टा बन्धक बनाएको आरोप लगाएका छन् ।

उनले कांग्रेसका केन्द्रीय सदस्य लामा र कक्षपतिले आफूहरुसँग प्रहरी र सीआईबी सबै मिलेको भनी धम्की डरत्रास देखाएर करकाप गरी फिरौटी स्वरुप २० करोड रुपैयाँको लेनदेनको कागज गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले २०/३० लाख रुपैयाँ खर्च गरेर केटा लगाएर मार्दिन्छु भनी धम्कीसमेत दिएको र सुरक्षका कारण यो विषय सार्वजनिक गर्न ढिला भएको जनाएका छन् । उनले जाहेरी दिएको १० दिनभन्दा बढी बितिसके तापनि ठोस रुपमा कारबाही प्रक्रिया अगाडि नबढेकाले सबैलाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् । ललितपुर प्रहरी परिसरका एसएसपी शेखर खनालले उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट भर्खर फाइल आइपुगेकाले मिसिल अध्ययनकै क्रममा रहेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य लामाले भने व्यवसायी खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले जग्गा पास गरेर १० वर्ष हराएका व्यवसायी ज्ञानेन्द्रले पैसा नतिर्ने नियतले आरोप लगाएको दाबी गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य लामाले तीन महिनाभित्र पैसा दिने सर्तमा २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैया कार्कीको नाममा धुलिखेलको जग्गा पास गरिदिएको र जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र सम्पर्कविहीन बनेर बसेको आरोप लगाएका छन् ।

लामाले दोषी ठहरिए कानुन बमोजिमको सजाय भोग्न तयार रहेको तर पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको दाबी गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय