काभ्रे । स्थानीय तहका पदाधिकारीसंग सहकारी संचालन सम्बन्धि समयसामहिक विषयमा जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष दिलिप शर्माको सभापतित्वमा, बागमती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेश सरकारले सहकारी संस्थाको नीतिगत रुपमा गर्दै आएको र सहकारी ऐन नियममा भएका व्यवस्था अनुगमन र नियमनमा गर्दै आएका बिषय सहित आगामि बाटो कसरी जान सकिन्छ भन्ने बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
काभ्रे जिल्लामा सहकारी अभियान र जिल्ला सहकारी संघ लि. ले गर्दै आएका कार्यहरुको बारेमा जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले प्रस्तुती गरे । शर्माले सहकारी क्षेत्रमा जिल्ला सहकारी संघ लि ले स्थानीय सरकारहरुसँग बरावर सम्पर्क रहि सहकारी अभियानमा कार्य गर्दै आउको र हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि गर्दै आएको भूमिका सहित स्थानीय सरकार र प्रदेश सरकारबाट अपेक्षा गरिएका बिषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी मन्त्रि पुकार महर्जनले बागमती प्रदेश सहकारी मन्त्रालय मार्फत सहकारी क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अनवरत रुपमा लागि परिरहेको बिचार राख्दै ऋण लिएर संस्थामा समस्यामा पार्नेहरुका लागि कानूनी रुपमा नै अगाडि बढ्न तयार रहेको र मन्त्रालय मार्फत निर्देशन दिइसकिएको जानकारी गराए ।
अन्य प्रदेशहरु भन्दा पनि हामी यस क्षेत्रमा अनवरत रुपमा लागेका छौं । यसमा काभ्रेमा रहेको जिल्ला सहकारी संघ लि. ले पनि राम्रै कार्यहरु गर्दै आइरहेको छ भन्दै तपाइहरु सबै एकताबद्ध रुपमा समस्या समाधानका लागि लाग्नुहोस सरकारले कहाँ के कस्तो सहयोग गर्नपर्छ म तयार रहेको बताए ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख, मण्डनदेउपुर नगरपालिका प्रमुख, उप-प्रमुख, पनौती नगरपालिका प्रमुख, उप-प्रमुख, धुलिखेल नगरपालिका उप-प्रमुख, पाँचखाल नगरपालिका उप-प्रमुख, नमोबद्ध नगरपालिका उप-प्रमुख, भूम्लु गाउँपालिका अध्यक्ष, रोशी गाउँपालिका अध्यक्ष, सहकारी शाखा प्रमुख लगायत स्थिरीकरण कोष सञ्चालक सदस्य प्रकाश बञ्जरा, प्रदेश सहकारी संघका अध्यक्ष राशरण शर्मा, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्लाका बिषयगत संघका अध्यक्ष नारायणप्रसाद बडाल, बहुउद्देश्यीय संघका बिधान जोशी, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन वस्नेत र जिल्ला सहकारी संघ लि. का पदाधिकारी लगाएतको उपस्थित रहेको थियो ।



















