मंगलबार, बैशाख ०८, २०८३
पत्रकार महासंघ काभ्रेलाई फोनिजको स्मरणपत्र

काभ्रे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काभ्रेपलाञ्चोकका अध्यक्ष इन्द्र बहादुर थापाको नेतृत्वमा सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाइएको छ ।

“सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर” भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्तर्गत आज जिल्ला महासंघका अध्यक्षलाई स्मरणपत्र बुझाइएको हो ।

तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ (तत्कालिन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।

७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले तत्काल फोनिजको स्मरणपत्रलाइ केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताए । तिमल्सिनाले फोनिजको मुद्धालाई सम्बोधन गर्न सहज वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय