काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी छुट्टै पहिचान रहेको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले पार्टीको छुट्टै पहिचान भएको बताएका छन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका बताए । उनले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भने, “जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौँ ।”
कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा (माओवादी) का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।



















