आइतबार, कार्तिक २२, २०८३
तिहार : उज्यालोको उत्सव भित्र बदलिँदो नेपाली समाजको कथा

इतिहास, संस्कृति, बजारवाद र आधुनिकताको दोसाँधमा नेपाली मौलिकताको खोज:

नेपालको सांस्कृतिक जीवनमा तिहार केवल पाँच दिनको पर्व होइन; यो उज्यालो, आस्था, प्रकृति, सम्बन्ध, पारिवारिक आत्मीयता र सामूहिक उत्सवको जीवन्त अभिव्यक्ति हो । घरआँगनमा बल्ने दियो, झिलिमिली बत्ती, फूलका माला, देउसी–भैलोका भाका, काग, कुकुर, गाई र गोरुको सम्मान, दिदीबहिनी तथा दाजुभाइ बीचको आत्मीय सम्बन्ध—यी सबैले तिहारलाई नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान बनाएका छन् ।

तर समयसँगै तिहार मनाउने शैली फेरिँदै गएको छ । परम्परागत दियो, केराको सुत्लो र मैनबत्तीको स्थान विद्युतीय बत्तीले लिँइरहेको छ । घर घरमा गुञ्जिने देउसी–भैलोको स्वर क्रमशः माइक, रेकर्डेड गीत र सामाजिक सञ्जालका भिडियोमा सीमित हुँदै छ । आत्मीय भेटघाटको ठाउँमा डिजिटल शुभकामना र अनलाइन संवादले महत्त्व पाउन थालेका छन् । अर्कोतर्फ, चाडपर्वको नाममा बढ्दो खर्च, उपभोगवादी संस्कृति, वातावरणीय प्रदूषण र देखासिकीले तिहारको मौलिक स्वरूप माथि प्रश्न समेत उठाउन थालेका छन् ।

यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न हाम्रो अगाडि उभिएको छ—हामी तिहार मनाइरहेका छौँ कि तिहारको बाहिरी स्वरूपलाई मात्र निरन्तरता दिइरहेका छौँ ? तिहारको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई वर्तमान नेपाली समाजको बदलिँदो अवस्थासँग जोडेर हेर्दा यो प्रश्न अझ सान्दर्भिक देखिन्छ ।

इतिहास र आस्थाको संगम – तिहारको सांस्कृतिक आधार:

तिहारको उत्पत्तिबारे विभिन्न धार्मिक आख्यान, लोक परम्परा र सांस्कृतिक व्याख्या पाइन्छन् । विशेषगरी यमराज र यमुनासँग सम्बन्धित कथाले यस पर्वको धार्मिक महत्त्वलाई व्याख्या गर्छ । पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा आमन्त्रण गरी टीका, माला र सत्कार सहित स्वागत गरेको प्रसङ्ग सँग भाइटीकाको परम्परा जोडिएको छ । यसले दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, दीर्घायु र पारिवारिक सम्बन्धको महत्त्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ ।

त्यस्तै, धनकी देवी लक्ष्मीको पूजा, घर आँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने र समृद्धिको कामना गर्ने परम्पराले तिहारलाई आर्थिक समृद्धि र शुभारम्भ सँग पनि जोडेको छ । तर तिहारको सांस्कृतिक अर्थ धार्मिक आस्थामा मात्र सीमित छैन । यसले मानिस, पशुपन्छी, प्रकृति र समुदाय बीचको सम्बन्धलाई समेत उजागर गर्छ ।

कागलाई सन्देश वाहकका रूपमा सम्मान गर्ने, कुकुरलाई सुरक्षा र निष्ठाको प्रतीक मानेर पूजा गर्ने, गाईलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ सम्मान गर्ने र गोरुको श्रमप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराले नेपाली समाजको प्रकृति मैत्री जीवन दृष्टिलाई संकेत गर्छ ।

यी परम्परालाई केवल धार्मिक कर्म काण्डका रूपमा होइन, मानव जीवन र प्रकृति बीचको सह अस्तित्वको सांस्कृतिक सन्देशका रूपमा बुझ्नु आवश्यक छ ।

यमपञ्चक : पाँच दिन भित्र समेटिएको जीवन दर्शन:

तिहारलाई सामान्यतया यमपञ्चकका रूपमा पाँच दिन सम्म मनाइन्छ । विभिन्न समुदाय र स्थानीय परम्परा अनुसार केही विधि र अभ्यासमा भिन्नता देखिए पनि यसको मूल सांस्कृतिक संरचनामा पाँच दिनको विशेष महत्त्व छ ।

काग तिहार – प्रकृतिप्रतिको सम्मान:- तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई सन्देश वाहक र खबर ल्याउने पक्षीका रूपमा हेर्ने लोक विश्वास छ । यस परम्पराले मानव जीवनमा प्रकृतिका हरेक जीवको आफ्नै महत्त्व रहेको सन्देश दिन्छ ।

कुकुर तिहार : निष्ठा र सुरक्षाको सम्मान:- दोस्रो दिन कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मिठो खानेकुरा खुवाउने गरिन्छ । कुकुरलाई मानिसको विश्वासिलो साथी, सुरक्षाकर्मी र सहयोगीका रूपमा सम्मान गरिन्छ । यसले पशुप्रतिको माया र कृतज्ञताको भावना व्यक्त गर्छ ।

लक्ष्मी पूजा : समृद्धि र उज्यालोको प्रतीक:-तिहारको सबैभन्दा आकर्षक दिन मध्ये एक लक्ष्मी पूजा हो । यस दिन घर, पसल र कार्यालय सफा गरी दीप प्रज्वलन गरिन्छ । घरको ढोका देखि पूजास्थल सम्म लक्ष्मीको स्वागत गर्ने परम्परा छ । धन सम्पत्तिको कामना गरिए पनि यसको गहिरो अर्थ घरमा शान्ति, श्रमको सम्मान, आर्थिक अनुशासन र समृद्धिको चाहनासँग जोडिएको छ ।

गोवर्धन पूजा तथा म्हपूजा : प्रकृति र आत्म सम्मानको सन्देश:- चौथो दिन विभिन्न समुदायमा गोवर्धन पूजा, गोरु पूजा तथा म्हपूजा मनाइन्छ । कृषि जीवनमा गोरुको योगदान प्रति सम्मान व्यक्त गर्ने परम्परा नेपाली समाजको श्रम र उत्पादन सँग जोडिएको छ । नेवार समुदायमा मनाइने म्हपूजा भने शरीर, आत्मा र व्यक्तित्वको शुद्धता तथा कल्याणको कामना सँग सम्बन्धित विशिष्ट सांस्कृतिक अभ्यास हो । यही दिन नेपाल संवत्को नयाँ वर्ष पनि मनाइन्छ ।

भाइटीका : सम्बन्ध र आत्मीयताको पर्व:- तिहारको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, माला पहिर्‍याउने र दीर्घायुको कामना गर्ने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र सम्मान व्यक्त गर्छन् । यो दिनले पारिवारिक सम्बन्ध, माया, विश्वास र जिम्मेवारीलाई पुनः स्मरण गराउँछ ।

यसरी हेर्दा यमपञ्चकका पाँच दिनले प्रकृति, पशुपन्छी, धन, श्रम, आत्मसम्मान र पारिवारिक सम्बन्धलाई एउटै सांस्कृतिक सूत्रमा बाँधेको देखिन्छ ।

नेपाल संवत् र शंखधर साख्वा : इतिहास, पहिचान र सांस्कृतिक चेतना:

तिहारको चौथो दिन नेपाल संवत्को नयाँ वर्ष मनाइने भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व अझ विशेष छ । नेपाल संवत् नेपालको मौलिक काल गणना परम्परा मध्ये एक हो । यसको प्रारम्भ इस्वी संवत् ८७९ मा भएको मानिन्छ ।

नेपाल संवत्को प्रारम्भ र शंखधर साख्वा सँग जोडिएको जनश्रुति नेपाली इतिहास र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा बनेको छ । प्रचलित किंवदन्ती अनुसार शंखधर साख्वाले गरिब तथा ऋणमा डुबेका मानिसहरूको ऋण मोचन गरिदिए पछि त्यसको सम्झनामा नयाँ संवत् सुरु भएको मानिन्छ । यस कथाले सामाजिक न्याय, परोपकार र जन कल्याणको आदर्श प्रस्तुत गर्छ ।

तर इतिहास लेखनमा जनश्रुति र अभिलेखीय प्रमाणलाई एउटै तहमा राख्नु उचित हुँदैन । नेपाल संवत्को प्रारम्भ सँग सम्बन्धित समयबारे ऐतिहासिक आधार उपलब्ध भए पनि यसको प्रारम्भिक नाम र शंखधर साख्वा सँगको सम्बन्धबारे प्रमाणहरू क्रमशः पछिल्ला अभिलेख तथा वंशावलीमा देखा पर्ने विषय इतिहासकारहरू बीच अध्ययन र बहसको विषय पनि बनेको छ ।

त्यसैले शंखधर साख्वाको योगदानलाई सम्मान गर्दै ऐतिहासिक तथ्य र लोक विश्वास बीचको भिन्नता बुझ्नु आवश्यक छ । कुनै पनि सांस्कृतिक नायकको महत्त्व स्थापित गर्न इतिहासलाई अतिरञ्जित बनाउनु पर्दैन । बरु उपलब्ध प्रमाणको इमानदार व्याख्याले हाम्रो इतिहासलाई अझ विश्वसनीय बनाउँछ ।

यसर्थ नेपाल संवत् केवल पात्रो परिवर्तन होइन; यो नेपाली समाजको सांस्कृतिक स्मृति, मौलिक पहिचान र ऐतिहासिक चेतनासँग जोडिएको विषय हो ।

देउसी–भैलो : मनोरञ्जन भन्दा माथिको सामुदायिक परम्परा:

तिहारको सबै भन्दा जीवन्त र सामूहिक पक्षमध्ये देउसी–भैलो एक हो । गाउँ घरका आँगन, टोल र बस्तीमा समूह बनाएर गीत गाउँदै, नाच्दै र शुभ कामना दिँदै देउसी–भैलो खेल्ने परम्पराले सामाजिक एकता र आपसी सद्भावलाई बलियो बनाउँदै आएको छ ।

देउसी–भैलो केवल पैसा वा दक्षिणा संकलन गर्ने माध्यम होइन । यसमा लोकगीत, मौलिक भाका, सामाजिक व्यङ्ग्य, स्थानीय कथा, आशीर्वाद र सामुदायिक सहभागिता मिसिएको हुन्छ । बालबालिका देखि वृद्धवृद्धा सम्म सहभागी हुने यस परम्पराले पुस्ता बीचको सांस्कृतिक सम्बन्धलाई पनि जोड्थ्यो ।

आज देउसी–भैलोको स्वरूपमा ठूलो परिवर्तन आएको छ । कतिपय ठाउँमा परम्परागत भाका र सामूहिक सहभागिताको सट्टा ठूलो ध्वनि प्रणाली, रेकर्डेड गीत र औपचारिक कार्यक्रमले प्राथमिकता पाउन थालेका छन् । कतिपय समूहले देउसी–भैलोलाई सामाजिक सेवा, विद्यालय सहयोग, विपन्न परिवारलाई राहत र सामुदायिक विकासका कामसँग पनि जोडिरहेका छन् ।

आधुनिकता आफैँमा समस्या होइन । समस्या तब हुन्छ, जब परम्पराको मूल भावना हराएर त्यसको बाहिरी प्रदर्शन मात्र बाँकी रहन्छ । देउसी–भैलोमा नयाँ पुस्ताको सिर्जनशीलता जोडिनुपर्छ, तर त्यसको मौलिक भाषा, भाका र सामूहिक आत्मीयता पनि जोगिनुपर्छ ।

तिहारको अर्थतन्त्र : फूल, व्यापार र स्थानीय उत्पादनको सम्भावना:

तिहार धार्मिक र सांस्कृतिक पर्व मात्र होइन, नेपाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण मौसमी बजार हो । विशेषगरी फूल, माला, पूजा सामग्री, मिठाई, कपडा, उपहार, विद्युतीय बत्ती र सजावटका सामग्रीको कारोबार यस समयमा उल्लेख्य रूपमा बढ्छ । यसले किसान, फूल उत्पादक, माला उन्ने श्रमिक, साना व्यापारी, यातायात व्यवसायी र खुद्रा विक्रेता सम्मलाई आर्थिक अवसर प्रदान गर्छ ।

काठमाडौ पोष्टको फूलको माग, स्थानीय उत्पादन र अनुमानित कारोबार सम्बन्धी कात्तिक १० गतेको समाचार  विवरण अजुसार २०८३ सालको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपालले सार्वजनिक गरेको अनुमान अनुसार काठमाडौं उपत्यकामा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अपेक्षा गरिएको छ । संस्थाको अनुमानमा माला, सयपत्रीका बिरुवा र गमलामा लगाइएका गोदावरी फूलसमेतको कारोबार करिब ६४ करोड ५० लाख रुपैयाँ पुग्न सक्ने उल्लेख छ । यो अनुमानित कारोबारमा माला मात्रैको कारोबार करिब ४८ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

यसले तिहारको फूल बजार कति ठूलो आर्थिक गतिविधिसँग जोडिएको छ भन्ने देखाउँछ । फूल खेतीलाई व्यवस्थित बनाउन सके ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, महिला उद्यमशीलता र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्न सक्छ ।

तर फूलको बजार विस्तारसँगै केही चुनौती पनि छन् । उत्पादनको उचित मूल्य नपाउनु, भण्डारण र ढुवानीको समस्या, बजारको अस्थिरता तथा आयातित फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले किसान प्रभावित हुन सक्छन् ।

तिहारका बेला मात्र फूलको माग अत्यधिक बढ्ने र अन्य समयमा बजार कमजोर हुने अवस्था अन्त्य गर्न फूल खेतीलाई वर्षभरि चल्ने व्यावसायिक कृषि प्रणाली सँग जोड्नु पर्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनु, किसानलाई उचित मूल्य सुनिश्चित गर्नु र आयात–निर्यात व्यवस्थापन सुधार्नु आवश्यक छ ।

तिहारको उज्यालोले घर मात्र सजाउनु हुँदैन; स्थानीय किसानको जीवनमा पनि आर्थिक उज्यालो ल्याउन सक्नुपर्छ ।

वैदेशिक रोजगारी र तिहार : उज्यालो घरमा, परिवारका सदस्य विदेशमा:

आजको नेपाली समाजमा तिहारको बदलिँदो स्वरूप बुझ्न वैदेशिक रोजगारी र बसाइँ सराइको प्रभावलाई बेवास्ता गर्न मिल्दैन ।

आज लाखौँ नेपाली रोजगारी, अध्ययन र अन्य अवसरका लागि विदेशमा छन् । उनीहरू मध्ये धेरैका लागि तिहार परिवार सँगै बसेर मनाउने चाहना हुँदाहुँदै पनि सम्भव हुँदैन । घरमा दियो बलिरहेको हुन्छ, आँगनमा मखमली र सयपत्रीका माला सजिएका हुन्छन्, दिदीबहिनी टीका र जमरा लिएर प्रतीक्षामा हुन्छन्; तर दाजुभाइ र दिदिबहिनी भने हजारौँ किलोमिटर टाढा काम गरिरहेका हुन्छन् ।

यस्तो अवस्थामा भिडियो कल, सामाजिक सञ्जाल र डिजिटल माध्यम बाट टीका तथा शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ । प्रविधिले भौतिक दूरी केही हदसम्म घटाएको छ । विदेशमा रहेका नेपालीले पनि आफ्नो कार्यस्थल, कोठा वा नेपाली समुदायको जमघटमा तिहार मनाउने प्रयास गर्छन् ।

तर प्रविधिले सबै भावनात्मक रिक्तता पूरा गर्न सक्दैन । परिवारसँगै बसेर टीका लगाउने, देउसी–भैलो खेल्ने, सामूहिक भोजन गर्ने र आफन्तसँग भेटघाट गर्ने अनुभवको विकल्प भिडियो कल मात्र हुन सक्दैन ।

वैदेशिक रोजगारीले नेपाली परिवारको आर्थिक अवस्था सुधार्न योगदान पुर्‍याएको छ । तर यससँगै पारिवारिक विछोड, बालबालिकाको अभिभावकीय दूरी, वृद्ध वृद्धाको एक्लोपन र चाडपर्वमा महसुस हुने भावनात्मक अभाव पनि जोडिएका छन् ।

तिहारको वास्तविक अर्थलाई बुझ्ने हो भने विदेशमा रहेका नेपालीको योगदान र उनीहरूले भोगिरहेको भावनात्मक दूरीलाई पनि हाम्रो सांस्कृतिक विमर्शको हिस्सा बनाउनु पर्छ । उज्यालो पर्वको चर्चा गर्दा घरमा प्रतीक्षा गरिरहेका परिवारको मनमा रहेको खालीपनलाई बिर्सनु हुँदैन ।

डिजिटल तिहार : प्रविधिले जोड्दै छ, तर आत्मीयता कति बाँकी छ ?

सामाजिक सञ्जालको विस्तार सँगै तिहार मनाउने तरिकामा अर्को ठूलो परिवर्तन आएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब र अन्य डिजिटल माध्यम बाट शुभकामना आदान प्रदान गर्ने, तिहारका तस्बिर तथा भिडियो सार्वजनिक गर्ने र सांस्कृतिक कार्यक्रम प्रसारण गर्ने चलन बढेको छ ।

यसले विदेशमा रहेका आफन्तलाई परिवारसँग जोड्न, नेपाली संस्कृति विश्वभर परिचित गराउन र नयाँ पुस्तालाई परम्परासँग परिचित गराउन सकारात्मक भूमिका खेलेको छ । तर डिजिटल माध्यमले उत्सवलाई कहिले काहीँ प्रदर्शनको प्रतिस्पर्धामा पनि बदलिदिएको छ । कसको घर बढी झिलिमिली छ, कसको सजावट आकर्षक छ, कसले महँगो उपहार दियो र कसको भिडियो बढी लोकप्रिय भयो भन्ने तुलना बढ्दै गएको देखिन्छ ।

चाडपर्वको आत्मीयता सामाजिक सञ्जालमा देखिने दृश्य र प्रतिक्रियाको संख्यामा सीमित हुनु हुँदैन । प्रविधि सम्बन्ध जोड्ने माध्यम बन्नुपर्छ, सम्बन्धको विकल्प होइन । तिहारको वास्तविक खुसी फोटो वा भिडियोमा देखिने चमक भन्दा परिवार र समुदाय बीच अनुभव गरिने आत्मीयतामा निहित हुनुपर्छ ।

उपभोगवाद र देखासिकी : चाडपर्व कि खर्चको प्रतिस्पर्धा ?

तिहारको अर्को चुनौती बढ्दो उपभोगवादी प्रवृत्ति हो । चाडपर्वको समयमा नयाँ कपडा, महँगा उपहार, आकर्षक सजावट, मिठाई र विलासी सामग्री किन्ने प्रतिस्पर्धा बढ्दै गएको छ ।व्यापारिक दृष्टिले यो बजार विस्तारको अवसर हुन सक्छ । तर सामाजिक दृष्टिले यसले आर्थिक असमानता र अनावश्यक खर्चको दबाब सिर्जना गर्न सक्छ ।

आर्थिक रूपमा कमजोर परिवारले पनि सामाजिक प्रतिष्ठा जोगाउन ऋण लिएर खर्च गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक हो । चाडपर्वले मानिसलाई जोड्नुपर्ने हो, आर्थिक हैसियतका आधारमा छुट्याउने होइन । तिहारको सुन्दरता महँगो बत्ती, महँगा उपहार वा विलासी सजावटमा मात्र हुँदैन । घरमा बालिएको एउटा दियो, परिवारसँग बाँडिएको सामान्य भोजन, आफन्त प्रतिको सम्मान र छिमेकी सँगको आत्मीयताले पनि तिहारलाई उत्तिकै अर्थपूर्ण बनाउँछ । यसर्थ हामीले चाडपर्वलाई बजारको उपभोग चक्रमा मात्र सीमित हुन नदिई यसको सामाजिक र मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्छ ।

वातावरणीय चुनौती : उज्यालो मनाउँदा प्रकृतिलाई अँध्यारो नबनाऔँ:

तिहारको समयमा पटाका, आतसबाजी, प्लास्टिक जन्य सजावट, अत्यधिक विद्युतीय बत्ती र फोहोर व्यवस्थापनको समस्या देखिन्छ ।विशेषगरी सहरी क्षेत्रमा ध्वनि प्रदूषण, वायु प्रदूषण र फोहोरको मात्रा बढ्ने जोखिम रहन्छ।

सन् २०२६ मा Environmental Pollution जर्नलमा प्रकाशित एक अध्ययनले सन् २०२३ देखि २०२५ सम्म नेपालका काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, जनकपुर र दाङलगायत छवटा सहरमा तिहार अवधिको वायु गुणस्तर अध्ययन गरेको छ । अध्ययनअनुसार तीनै वर्ष PM2.5 र PM10 कणको मात्रा तिहारको मुख्य दिनभन्दा अघिल्लो अवधिमा उच्च देखिएको थियो । सन् २०२५ मा अध्ययन गरिएका अवधि मध्ये सबै भन्दा उच्च स्तरमा PM2.5 को मात्रा ६६.६४ र PM10 को मात्रा १४३.९६ माइक्रोग्राम प्रति घनमिटर पुगेको उल्लेख छ ।

यस अध्ययनलाई आधार मानेर तिहारकै दिन वा पटाकाले मात्र सबै प्रदूषण गराएको निष्कर्ष निकाल्नु पनि उचित हुँदैन । अध्ययनले तिहार अघिको प्रदूषण उच्च देखाएको छ र पर्वसँग सम्बन्धित उत्सर्जन पहिले देखि रहेको सहरी प्रदूषण माथि थपिन सक्ने संकेत पनि गरेको छ । सवारीसाधन, निर्माण गतिविधि, धुलो, मौसम र अन्य स्रोतलाई पनि समग्र रूपमा हेर्नुपर्छ ।

यसैले तिहारलाई वातावरणमैत्री बनाउने जिम्मेवारी केवल व्यक्तिगत व्यवहारमा सीमित छैन । स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, समुदाय र व्यवसायी सबैको भूमिका आवश्यक छ । पटाका र विस्फोटक सामग्रीको प्रयोग घटाउने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने, स्थानीय फूल र प्राकृतिक सजावटलाई प्राथमिकता दिने, प्लास्टिकको प्रयोग कम गर्ने तथा उत्सवपछि फोहोर व्यवस्थापन गर्ने अभ्यासलाई बढावा दिनुपर्छ । दियो बालेर उज्यालो फैलाउने पर्वले धुवाँ, ध्वनि र फोहोरको अँध्यारो सिर्जना गर्नु हुँदैन ।

परम्परा र व्यवहार बीचको विरोधाभास : तिहारले हामीलाई के सिकाउँछ ?

तिहारले पशुपन्छी प्रति सम्मान गर्न सिकाउँछ, तर वर्षभरि तिनको संरक्षणमा हामी कति संवेदनशील छौँ ? कुकुरलाई एक दिन माला लगाएर पूजा गर्नु पर्याप्त हो कि सडकका बेवारिसे कुकुरको संरक्षण र उचित व्यवहार पनि हाम्रो दायित्व हो ?

लक्ष्मी पूजाले समृद्धिको कामना गर्न सिकाउँछ, तर आर्थिक अनुशासन, श्रमको सम्मान र इमानदार कमाइलाई हामीले कति प्राथमिकता दिएका छौँ ?

भाइटीकाले दिदीबहिनी र दाजुभाइ बीचको प्रेमको सन्देश दिन्छ, तर दैनिक जीवनमा महिला र पुरुषबीच समान सम्मान, अवसर र अधिकार सुनिश्चित गर्न हामी कति प्रतिबद्ध छौँ ?

देउसी–भैलोले सामुदायिक एकता सिकाउँछ, तर हाम्रो समाजमा बढ्दो विभाजन, असहिष्णुता र सामाजिक दूरी कम गर्न यसले कस्तो भूमिका खेल्न सक्छ ?

यी प्रश्नहरू तिहारको आलोचना होइनन् । बरु तिहारले बोकेको सांस्कृतिक आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकताको स्मरण हुन् । पर्वको सार कर्म काण्डमा मात्र होइन, त्यसले सिकाउने जीवन मूल्यमा पनि हुन्छ ।

बहु सांस्कृतिक नेपालमा तिहार – विविधता भित्रको साझा उत्सव:

नेपाल बहुजातीय, बहु भाषिक, बहु धार्मिक र बहु सांस्कृतिक समाज हो। यहाँका सबै समुदायले तिहारलाई एउटै ढङ्गले मनाउँदैनन् । कसैले धार्मिक विधिलाई प्राथमिकता दिन्छन्, कसैले पारिवारिक भेटघाटलाई, कसैले देउसी–भैलो र सामुदायिक उत्सवलाई ।

नेपालको सांस्कृतिक विविधता नै यसको शक्ति हो । तिहारको चर्चा गर्दा कुनै एउटा समुदायको अभ्यासलाई सम्पूर्ण नेपाली समाजको अनिवार्य अभ्यासका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन ।

विभिन्न समुदायका आफ्नै पर्व, परम्परा र सांस्कृतिक मान्यता छन् । तिनको सम्मान गर्दै साझा सामाजिक सद्भाव निर्माण गर्नु नै नेपाली पनको सुन्दर पक्ष हो ।

तिहारलाई सबै नेपालीको एउटै धार्मिक अनुभवका रूपमा भन्दा पनि विभिन्न समुदाय बीच शुभकामना, सद्भाव र सामाजिक निकटता बढाउने सांस्कृतिक अवसरका रूपमा बुझ्नु अझ समावेशी दृष्टिकोण हुन्छ ।

सञ्चार माध्यमको भूमिका : उत्सवको समाचार भन्दा संस्कृतिको विमर्श:

आजको डिजिटल युगमा सञ्चार माध्यमले चाडपर्वको स्वरूप, अर्थ र सामाजिक प्रभावलाई जनस्तर सम्म पुर्‍याउन ठूलो भूमिका खेल्न सक्छन् । तिहारका बेला शुभकामना, तस्बिर, सजावट र बजारका समाचार प्रकाशित गर्नु स्वाभाविक हो । तर सञ्चार माध्यमको दायित्व त्यतिमै सीमित हुनु हुँदैन ।

तिहारको ऐतिहासिक पृष्ठभूमि, नेपाल संवत्को प्रमाणिकता, स्थानीय संस्कृति, फूल उत्पादक किसानका समस्या, वैदेशिक रोजगारीले पारेको पारिवारिक प्रभाव, वातावरणीय चुनौती र चाडपर्वमा बढ्दो उपभोगवाद जस्ता विषयमा तथ्यपरक सामग्री प्रकाशन गर्नु आवश्यक छ ।
सञ्चार माध्यमले जनश्रुति र ऐतिहासिक तथ्यलाई छुट्याएर प्रस्तुत गर्नुपर्छ । अपुष्ट तथ्य, अतिरञ्जित दाबी र सनसनीपूर्ण सामग्री भन्दा प्रमाणमा आधारित विश्लेषणलाई प्राथमिकता दिनुपर्छ ।

त्यस्तै, स्थानीय तहमा हराउँदै गएका लोकगीत, देउसी–भैलोका मौलिक भाका, पुराना सांस्कृतिक अभ्यास र ज्येष्ठ पुस्तासँग रहेका मौखिक इतिहासको अभिलेखीकरण गर्न सञ्चार माध्यमले पहल गर्न सक्छन् । किनकि  चाडपर्वको समाचारले क्षणिक उत्साह दिन्छ; तर गहिरो सांस्कृतिक विमर्शले समाजलाई दीर्घकालीन चेतना दिन सक्छ ।

अबको तिहार कस्तो हुनुपर्छ ?

तिहारको मौलिकता जोगाउनु भनेको समयलाई पछाडि फर्काउनु होइन । आधुनिक प्रविधि, नयाँ जीवन शैली र बदलिँदो सामाजिक आवश्यकतालाई अस्वीकार गरेर संस्कृति जोगाउन सकिँदैन । बरु परम्पराको मूल भावना सुरक्षित राख्दै त्यसलाई समय अनुकूल बनाउनु आवश्यक छ ।

यसका लागि केही विषयमा विशेष ध्यान दिन सकिन्छ ।
• मौलिक संस्कृतिको संरक्षण : देउसी–भैलोका परम्परागत भाका, लोकगीत, स्थानीय भाषा र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्ता सम्म पुर्‍याउनु पर्छ ।
• स्थानीय उत्पादनको प्रवर्द्धन : नेपाली किसानले उत्पादन गरेका फूल, माला र अन्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।
• वातावरणमैत्री उत्सव : पटाका, प्लास्टिक र अनावश्यक ध्वनि प्रदूषण घटाउँदै स्वच्छ र सुरक्षित तिहार मनाउनुपर्छ ।
• सामाजिक समानता : चाडपर्वलाई आर्थिक हैसियत प्रदर्शन गर्ने अवसर होइन, सबैलाई समेट्ने सामूहिक उत्सव बनाउनु पर्छ ।
• पारिवारिक आत्मीयता : विदेशमा रहेका आफन्तसँग सम्भव भएसम्म समय र संवाद बढाउँदै परिवार भित्रको भावनात्मक सम्बन्ध बलियो बनाउनु पर्छ ।
• इतिहासको सही अभिलेखीकरण : नेपाल संवत्, शंखधर साख्वा र अन्य सांस्कृतिक परम्पराबारे प्रमाणमा आधारित अध्ययन तथा सामग्रीलाई प्रोत्साहन गर्नुपर्छ ।
• डिजिटल माध्यमको सदुपयोग : सामाजिक सञ्जाललाई संस्कृति प्रवर्द्धन, अभिलेखीकरण र सम्बन्ध विस्तारको माध्यम बनाउनुपर्छ, प्रतिस्पर्धा र प्रदर्शनको साधन मात्र होइन ।

यी अभ्यासले तिहारलाई केवल परम्परागत पर्वका रूपमा होइन, जिम्मेवार, समावेशी र वातावरणमैत्री सामाजिक उत्सवका रूपमा विकास गर्न सहयोग पुर्‍याउन सक्छन् ।

निष्कर्ष : दियोको उज्यालो भन्दा ठूलो हुनुपर्छ संस्कृतिको चेतना:

तिहार नेपाली समाजको सांस्कृतिक स्मृति, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र प्रकृति प्रतिको सम्मानको प्रतीक हो । यसको ऐतिहासिक आधार, धार्मिक विश्वास, लोक परम्परा र सामुदायिक अभ्यासले नेपाली जीवनलाई विशिष्ट पहिचान दिएका छन् ।

तर समयसँगै पर्वको स्वरूप परिवर्तन हुनु स्वाभाविक हो । विद्युतीय बत्ती आउनु, डिजिटल शुभकामना बढ्नु वा नयाँ पुस्ताले नयाँ शैलीमा उत्सव मनाउनु आफैँमा संस्कृतिको क्षय होइन । संस्कृतिको वास्तविक संकट तब सुरु हुन्छ, जब त्यसको मूल भावना हराउँछ र बाहिरी प्रदर्शन मात्र बाँकी रहन्छ ।

आज तिहारले हामीलाई केही महत्त्वपूर्ण प्रश्न सोधिरहेको छ—हामीले प्रकृतिको सम्मानलाई व्यवहारमा उतारेका छौँ ? स्थानीय किसानको श्रमलाई मूल्य दिएका छौँ ? पारिवारिक सम्बन्धलाई आर्थिक र भौगोलिक दूरी भन्दा माथि राख्न सकेका छौँ ? चाड पर्वलाई सामाजिक समानता र वातावरणीय जिम्मेवारी सँग जोड्न सकेका छौँ ? यी प्रश्नको उत्तर खोज्नु नै तिहारको वास्तविक मर्म बुझ्नु हो ।

हामीलाई आधुनिक तिहार चाहिन्छ, तर मौलिकता हराएको तिहार होइन । प्रविधिसँग जोडिएको तिहार चाहिन्छ, तर आत्मीयता गुमाएको तिहार होइन । आर्थिक गतिविधि बढाउने तिहार चाहिन्छ, तर देखासिकी र ऋणको बोझ थप्ने तिहार होइन । उज्यालो फैलाउने तिहार चाहिन्छ, तर वातावरणलाई अँध्यारो बनाउने तिहार होइन ।

अन्ततः तिहारको उज्यालो घरको झ्याल, ढोका र आँगनमा मात्र सीमित हुनु हुँदैन । त्यो उज्यालो हाम्रो सोच, व्यवहार, सम्बन्ध, सामाजिक न्याय र सांस्कृतिक चेतनामा पनि फैलिनुपर्छ । किनकि तिहारको वास्तविक अर्थ दियो कति बल्यो भन्नेमा होइन, त्यसको उज्यालोले हाम्रो समाजलाई कति मानवीय, आत्मीय र जिम्मेवार बनाउन सक्यो भन्नेमा निहित छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय